पोखरा, १२ फागुन। महाशिवरात्रि नजिकिँदै गर्दा मानव सेवा फाउण्डेसन नेपालले पोखराका विभिन्न मठमन्दिर सरसफाइ तथा रंगरोगनको अभियानलाई तीव्रता दिएको छ। धार्मिक तथा सामाजिक कार्यमा संलग्न रहँदै आएको फाउण्डेसनले देशका विभिन्न स्थानमा सरसफाइ कार्यक्रम सञ्चालन गर्दै आएको छ। हाल पोखरामा पनि मन्दिर तथा सार्वजनिक धार्मिक स्थलहरूको सरसफाइ तथा पुनःस्थापनाको कार्य गरिरहेको छ।

मानव सेवा फाउण्डेसनले आगामी महिनामा पोखरामै आयोजना गर्न लागेको ऐतिहासिक गण्डकी कोटिहोम महायज्ञको तयारीस्वरूप धार्मिक वातावरणको प्रवर्द्धन गर्दै मठमन्दिर सफा गर्ने अभियान सञ्चालन गरेको हो। यसैक्रममा पोखरा महानगरपालिका-६, सिमपानीस्थित ॐ शिवमणि कैलाशधाम मन्दिर परिसर सरसफाइ तथा रंगरोगनको कार्य सम्पन्न गरिएको छ। मन्दिरका अध्यक्ष गिरीराज अधिकारीका अनुसार फाउण्डेसनका स्वयंसेवकहरूले मन्दिर परिसरलाई थप आकर्षक बनाउन विशेष चासो दिएका छन्।

त्यस्तै, पोखराको बैदामस्थित मुक्तेश्वर शिव मन्दिरमा पनि सरसफाइ तथा रंगरोगन गरिएको छ। महाशिवरात्रिमा भक्तजनहरूको भीड लाग्ने भएकाले वातावरण स्वच्छ राख्न फाउण्डेसनले विशेष पहल गरिरहेको छ। पोखराका अन्य धार्मिक तथा सार्वजनिक स्थलहरूमा पनि सरसफाइको कार्य निरन्तर भइरहेको छ। फाउण्डेसनले धार्मिक सम्पदाको संरक्षण तथा स्वच्छ वातावरण कायम गर्न विभिन्न अभियान सञ्चालन गरिरहेको जनाएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0