पोखरा, १२ फागुन। अमेरिका, लस एन्जलसमा बसोबास गर्दै आएका निकोल फराज र डिलानी डनीलाई आफ्नो नयाँ अपार्टमेन्टमा सरेपछि अप्रत्याशित स्वास्थ्य समस्याले ग्रस्त बनायो। उनीहरूमा सास फेर्न कठिनाइ, टाउको दुख्ने, निद्रा नलाग्ने, तथा मानसिक अन्योल जस्ता गम्भीर लक्षण देखिए। सुरुवातमा तनावका कारण यस्तो भएको ठाने पनि पछि पत्ता लाग्यो कि उनीहरू ढुसीको विषाक्तताबाट ग्रस्त थिए।

उनीहरू बस्ने अपार्टमेन्टको भित्ताहरूमा ढुसी उम्रिएको थियो, जसले बिस्तारै उनीहरूको स्वास्थ्यमा गहिरो असर पार्यो। अनुसन्धानअनुसार, ढुसीका केही प्रकारले विषालु असर पार्न सक्छन्, जसले श्वासप्रश्वाससम्बन्धी रोग, दम तथा चरम अवस्थामा क्यान्सर समेत निम्त्याउन सक्छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार ढुसीजन्य रोग दीर्घकालीन रूपमा खतरनाक हुन सक्छन्।

निकोल र डिलानीको अवस्थामा चिकित्सकहरूले खासै गम्भीरता नदेखाएपछि उनीहरूले आफ्नो समस्या बुझ्न धेरै समय खर्चिनुपर्यो। अन्ततः, अपार्टमेन्टभरि नै ढुसी फैलिएको थाहा पाएपछि उनीहरू त्यसबाट जोगिन प्रयासरत भए। ढुसीको असरले उनीहरूलाई मानसिक र शारीरिक रूपमा कमजोर बनाएको थियो, जसका कारण जागिर समेत गुम्यो। स्वास्थ्यमा सुधार ल्याउन उनीहरूलाई छ वर्ष लागेको थियो।

विज्ञहरूका अनुसार, घरमा ढुसीबाट बच्नका लागि पर्याप्त हावा प्रवेश गराउनु, झ्याल खोल्ने, कोठाको तापक्रम सन्तुलित राख्ने तथा भित्ता ओसिलो हुन नदिनु अत्यावश्यक छ। जलवायु परिवर्तनले ढुसीजन्य समस्यालाई अझ बढाउने चेतावनी विज्ञहरूले दिएका छन्। निकोल र डिलानीको अनुभवले घरभित्रको वातावरणले स्वास्थ्यमा कति ठूलो प्रभाव पार्न सक्छ भन्ने देखाएको छ।

स्रोतः बिबिसी

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0