पोखरा, १३ फागुन। सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नेपाली सेनाले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आएको बताएका छन्। धनगढीमा आयोजित महाशिवरात्रि तथा २६२औँ नेपाली सेना दिवसको अवसरमा बोल्दै उनले सेनाले स्थापनाकालदेखि नै नागरिकको सुखदुःखमा साथ दिँदै आएको उल्लेख गरे।
प्रदेश प्रमुख मियाँले प्राकृतिक विपत्ति, महामारी तथा आपत्कालीन अवस्थाहरूमा नेपाली सेनाले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै राष्ट्रिय सुरक्षाका अतिरिक्त राष्ट्रको विकास, वातावरण संरक्षण र अन्तर्राष्ट्रिय शान्ति स्थापनामा समेत सेनाले महत्वपूर्ण योगदान पुर्याएको बताए।
सोही अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय एकता र विकासमा सेनाको भूमिकालाई अपरिहार्य बताउँदै सेनाले मुलुकको स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमिकताको रक्षा गर्दै आएको उल्लेख गरे। उनले नेपाली सेनालाई गौरवशाली संस्था भएको बताएका थिए।
सुदूरपश्चिम पृतनाका उपरथी प्रकाश देउजाले नेपाली सेनाले विपद् व्यवस्थापन, विकास निर्माण तथा सुरक्षाका क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्दै जनताको विश्वास जित्न सफल भएको बताए।
कार्यक्रममा पाँच किलोमिटर र १० किलोमिटर दौड प्रतियोगिताका विजयी खेलाडीलाई पुरस्कार प्रदान गरियो। त्यस्तै, सातै प्रदेशको संस्कृतिलाई झल्काउने झाँकी तथा नृत्य प्रदर्शन गरिएको थियो। नेपाली सेनाले जनताको उद्धार तथा युद्धका लागि प्रयोग गरिने विभिन्न उपकरण तथा साधनहरूको प्रदर्शनसमेत गरेको थियो।




























