पोखरा, १३ फागुन। रुस–युक्रेन युद्ध तीन वर्ष पूरा भइसक्दा पनि शान्तिको कुनै संकेत देखिएको छैन। सन् २०२२ को फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि शुरू भएको यो युद्धले ठूलो मानवीय र भौतिक क्षति पुऱ्याएको छ। युद्धको प्रारम्भ युक्रेनको नेटोमा प्रवेश गर्ने योजनासँग जोडिएको थियो, जुन रुसलाई स्वीकार्य थिएन।
तीन वर्षमा युक्रेनले ठूलो जनधनको क्षति बेहोर्नुपरेको छ। नेटोको सदस्यता प्राप्त गर्न असफल भएको मात्र होइन, युक्रेनले आफ्नो खनिज स्रोतको आधा हिस्सा गुमाउने स्थितिमा पुगेको छ। यसबीच अमेरिकामा डोनाल्ड ट्रम्प पुनः राष्ट्रपति निर्वाचित भएपछि युक्रेन थप दबाबमा परेको छ। ट्रम्पले युक्रेनको नेटो सदस्यताको समर्थन नगर्ने संकेत दिइसकेका छन्। साथै, उनले अहिलेसम्मको सहयोगको बदलामा युक्रेनी खनिजको आधा हिस्सा मागेका छन्।
युद्धले दुवै देशमा गहिरो असर पारिरहेको छ। रुसले हालसम्म युक्रेनको करिब २० प्रतिशत भूभाग नियन्त्रणमा लिइसकेको छ। अर्कोतर्फ, युक्रेनले पनि रुसी सेनाका जहाज, सवारी साधन तथा सीमावर्ती शहरहरूमा निरन्तर आक्रमण गरिरहेको छ। युद्धका कारण कम्तीमा ४० हजार युक्रेनी नागरिकको मृत्यु भइसकेको अनुमान छ भने ६८ लाख युक्रेनी विस्थापित भएका छन्।
वैदेशिक अनुदानको कुरा गर्दा, युक्रेनले चार खर्ब सात अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता प्राप्त गरिसकेको छ, जसको ४७ प्रतिशत अमेरिका एक्लैले उपलब्ध गराएको हो। तर, हाल अमेरिकाले आफ्नो समर्थनको स्वरूप परिवर्तन गर्न थालेको देखिन्छ।
युद्ध अनुगमन गर्ने विभिन्न निकायहरूका अनुसार हालसम्म झन्डै ७० हजार युक्रेनी र दुई लाख रुसी सैनिक मारिएको अनुमान गरिएको छ। तर, यकिन तथ्यांक भने सार्वजनिक गरिएको छैन।
युद्धको चपेटामा परेको युक्रेन अब कूटनीतिक समाधानतर्फ उन्मुख हुन थालेको संकेत देखिएको छ। अमेरिकी दबाब बढ्दै गएपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पत्रकारहरूसँग कुरा गर्दै शान्ति सुनिश्चित भए आफू राष्ट्रपतिको पद त्याग्न तयार रहेको बताएका छन्।


























