पोखरा, १३ फागुन। भारत र बेलायतबीच स्वतन्त्र व्यापार सम्झौता (एफटीए) सम्बन्धी वार्ता फेरि शुरू भएको छ। भारतका वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले आफ्ना बेलायती समकक्षी जोनाथन रेनोल्ड्ससँग भेट पछि यस वार्ताको पुनः आरम्भ भएको जानकारी दिएका छन्। गत वर्ष दुवै देशमा भएको आम चुनावका कारण वार्ता रोकिएको थियो।
सन् २०२२ देखि बेलायत र भारतबीच एफटीएको लागि कैयौँ चरणको वार्ता गरिएको भए पनि अहिलेसम्म कुनै सम्झौतामा पुग्न सकेको छैन। भारतीय सञ्चार माध्यमका अनुसार, हालको वार्ता बेलायतको लेबर पार्टी सत्तामा आएपछि भएको यो पहिलो अवसर हो। मन्त्री गोयलले अब वार्तामा सम्झौतामा पुग्नु प्राथमिकता भएको बताएका छन्।
यसअघि, गएको वर्ष नोभेम्बरमा ब्राजिलको रियो दि जेनेरियोमा भएको जी–२० शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती प्रधानमन्त्री कियर स्टाररबीच एफटीएमा वार्ता पुनः शुरू गर्ने सहमति भएको थियो। एफटीए सम्झौतामा दुई देशले उनीहरूबीच व्यापार हुने अधिकांश उत्पादनहरूमा भन्सार महसुल पूर्ण रूपमा हटाउने वा केही घटाउने कुरा उल्लेख गरिएको छ।





























