पोखरा, १५ फागुन। खानपान र जीवनशैलीमा ध्यान दिएर मुटुरोगबाट बच्न सकिने चिकित्सकहरूले बताएका छन्। पछिल्लो समय असन्तुलित भोजन, विलासी जीवनशैली र तनावका कारण मुटुरोगको समस्या बढ्दै गएको छ। विशेषज्ञहरूका अनुसार, उच्च रक्तचाप, मधुमेह, मोटोपनजस्ता समस्याले मुटुरोगको जोखिम बढाउने भएकाले यस्ता स्वास्थ्य अवस्थाको उचित व्यवस्थापन गर्न आवश्यक छ।
भरतपुर अस्पतालका मुटुरोग विशेषज्ञ डा. मणि गौतम का अनुसार परिवारका सदस्यहरूमध्ये कसैलाई मुटुसम्बन्धी रोग भए-नभएको कुरा ध्यान दिनुपर्छ। मुटुरोगको जोखिम न्यून गर्न धूमपान र मद्यपान परित्याग गर्नुका साथै नियमित व्यायाम, स्वस्थ खानपान र तनाव व्यवस्थापन गर्नुपर्ने उनको सुझाव छ।
चितवन मुटु अस्पतालका मुटुरोग विशेषज्ञ डा. शङ्कर लौडारी भन्छन्, ‘‘मुटुरोग लाग्नुभन्दा पहिले नै सतर्कता अपनाउन सकेमा रोगबाट जोगिन सकिन्छ।’’ उनका अनुसार धूमपान, अत्यधिक मद्यपान, लागुऔषध सेवनजस्ता कुलत छोडेमा एकदेखि दुई वर्षमै शरीरको अवस्था सुधार हुन सक्छ। तर, रोग गम्भीर भइसकेमा पूर्ण रूपमा निको पार्न कठिन हुने उनको भनाइ छ।
चितवन मेडिकल कलेज शिक्षण अस्पतालका मुटुरोग विशेषज्ञ डा. विष्णुमणि धिताल ले मुटुरोगका सामान्य लक्षणबारे सचेत रहन सुझाव दिएका छन्। छातीको बिच भाग दुख्ने, शारीरिक गतिविधिका बेला छाती भारी महसुस हुने, पोल्ने वा थिचिएको जस्तो लाग्ने, कहिलेकाहीं श्वास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिएमा तुरुन्तै चिकित्सकसँग परामर्श गर्नुपर्ने उनको सुझाव छ।
मुटुरोगको समस्या पछिल्लो समय ग्रामीण क्षेत्रमा समेत विस्तार भएको छ। पहिले राजधानी केन्द्रित मुटुरोग उपचार सेवा हाल चितवनसहित विभिन्न शहरहरूमा उपलब्ध छ। मुटुरोगका बिरामीका लागि क्याथल्याबसहितको आकस्मिक उपचार सेवा समेत प्रदान गर्न थालिएको छ। चिकित्सकहरूका अनुसार, स्वस्थ जीवनशैली अपनाएमा मुटुरोग लाग्न नदिन सकिन्छ भने लागिसकेको अवस्थामा पनि उचित व्यवस्थापन गर्न सकिन्छ।




























