पोखरा, १५ फागुन। बाँके राष्ट्रिय निकुञ्ज र कम्दी करिडोर क्षेत्रमा राखिएका क्यामेरामा पाटे बाघ र चितुवा फेला परेका छन्। निकुञ्ज र करिडोरका विभिन्न स्थानमा करिब ८० दिनसम्म जडान गरिएका क्यामेरामा बाघ तथा चितुवाको गतिविधि देखिएपछि संरक्षणकर्मीहरू उत्साहित बनेका छन्।

निकुञ्जका सूचना अधिकारी मन्दिप पङ्गेनीका अनुसार निकुञ्जभित्र १६९ क्यामेरा र कम्दी करिडोरमा ९५ क्यामेरा जडान गरिएको थियो। ती क्यामेराहरूबाट बाघ र चितुवाको तस्वीर कैद भएपछि हाल विस्तृत विश्लेषणको प्रक्रिया अघि बढाइएको छ। अध्ययनका लागि बाघको आहारा प्रजाति र हिँडडुलका मार्गहरूको समेत अनुगमन गरिएको उनले बताए।

जिल्ला वन कार्यालयका प्रमुख शङ्करप्रसाद गुप्ताले कम्दी करिडोरमा दुई किलोमिटरको दूरीमा क्यामेरा राखिएको र ती उपकरण १५ दिनसम्म सक्रिय रहने जनाएका छन्। प्रारम्भिक अध्ययनले बाघ र चितुवा करिडोर हुँदै आवतजावत गर्ने स्पष्ट संकेत देखाएको छ। गुप्ताका अनुसार विस्तृत तथ्याङ्क सार्वजनिक भएपछि बाघ संरक्षणका लागि नयाँ रणनीति बनाइनेछ।

यसअघि गरिएको गणनाका आधारमा बाँके राष्ट्रिय निकुञ्जमा हाल २५ वटा बाघ रहेको पुष्टि भएको थियो। विसं २०६७ मा स्थापना भएको यस निकुञ्जमा ३४ प्रजातिका स्तनधारी, ३०० भन्दा बढी जातका पन्छी, २४ प्रकारका घस्रने प्राणी, ५५ भन्दा बढी माछाका प्रजातिहरू पाइन्छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0