पोखरा, १५ फागुन। उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले शिक्षाको गुणस्तर सुधारका लागि सामूहिक प्रयास अपरिहार्य रहेको बताएका छन्। ललितपुरमा आयोजित नेपाल अंग्रेजी भाषा शिक्षक संघ (NELTA) को २९औँ अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पाठ्यक्रम विकास, शिक्षक तालिम र नीति पैरवीमार्फत शिक्षाको स्तर उकास्नुपर्ने आवश्यकता औंल्याए।

उनले अघिल्लो दशकको तुलनामा अहिले शिक्षाको क्षेत्रमा धेरै सकारात्मक परिवर्तन आइसकेको उल्लेख गर्दै नेपालमै गुणस्तरीय शिक्षा लिन सक्ने अवसरहरू सिर्जना हुनु सुखद पक्ष भएको बताए। शिक्षामा सुधार ल्याउन नीति निर्माणदेखि कार्यान्वयनसम्म सरोकारवाला निकायहरूबीच समन्वय आवश्यक रहेको उनले स्पष्ट गरे।

उपप्रधानमन्त्री सिंहले नयाँ शैक्षिक नीति निर्माण, पाठ्यक्रम विकास र शिक्षक प्रशिक्षणमा निरन्तर सुधार आवश्यक रहेको बताए। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सहकार्य गरेर शिक्षा प्रणालीलाई सुधार गर्नुपर्ने उनको धारणा थियो।

सन् १९९२ मा स्थापना भएदेखि नै नेपाल अंग्रेजी भाषा शिक्षक संघले देशभर अंग्रेजी भाषा शिक्षालाई प्रवर्द्धन गर्न खेलेको भूमिकाको उनले प्रशंसा गरे। साथै, उनले दुर्गम क्षेत्रमा अंग्रेजी शिक्षाको पहुँच अभिवृद्धि गर्न संघको भूमिका अझ प्रभावकारी बनाउन आग्रह गरे।

ललितपुरमा बिहीबारदेखि सुरु भएको सम्मेलन तीन दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0