पोखरा, १६ फागुन। राष्ट्रपति रामचन्द्र पौडेलले ग्याल्पो ल्होसार पर्वको अवसरमा सम्पूर्ण नेपालीलाई एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि गर्ने महत्त्वपूर्ण अवसरको रूपमा अवलोकन गरेका छन्। शेर्पा समुदायको यो पर्व स्वदेश तथा विदेशमा रहेका सबैलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उनले यस पर्वबाट बृहत् राष्ट्रिय एकता सुदृढ गर्ने विश्वास व्यक्त गरे।
फागुन शुक्लपक्षको प्रतिपदा तिथिका दिन शेर्पा समुदाय लगायत महायान बौद्ध धर्मावलम्बीहरूले ग्याल्पो ल्होसार नयाँ वर्षका रूपमा विविध कार्यक्रम आयोजना गर्दै मनाउँछन्। पर्वका अवसरमा पारिवारिक जमघट, आफन्त भेटघाट र विशेष परिकारको सेवन गरेर हर्षोल्लासका साथ मनाइन्छ। यस पर्वले शेर्पा जातिको पहिचान र विशेषतालाई झल्काउँछ।
राष्ट्रपति पौडेलले ग्याल्पो ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक समृद्धिको लक्ष्यमा अघि बढ्न प्रेरणा प्रदान गर्ने आशा व्यक्त गरेका छन्।































