पोखरा, १६ फागुन। जुम्लाको हिमा गाउँपालिका-६ की सम्मी कडेलको मुहारमा लामो समयपछि खुसी फर्किएको छ। निरन्तरको खडेरीले गहुँ-जौजस्ता बाली सुक्न थालेपछि चिन्तित बनेकी उनलाई बिहीबार रातिदेखि परेको हिमपातले राहत दिएको छ। कडेल मात्र होइन, जुम्लाका अधिकांश किसान हिमपातपछि उत्साहित देखिएका छन्।
धेरै समयपछि भएको हिमपातले उच्च लेकाली बस्तीहरू सेताम्मे बनेका छन्। सिंजा गाउँपालिका-५ की समिना न्यौपाने अब अन्नबाली, स्याउ, ओखरलगायत फलफूलको उत्पादन बढ्ने अपेक्षा व्यक्त गरिन्। उनले जमिनमा चिस्यान पुग्ने भएकाले बालीलाई राहत हुने बताइन्। खडेरीले सुक्न थालेका बाली अब फेरि हरियाली हुने आशामा स्थानीय किसान रमाएका छन्।
पातारासी गाउँपालिका-६ का रजन कडेलले केही दिनअघिसम्म हिमालहरू कालै देखिन्थे भने अहिले हिउँले ती पहाडहरू सफेद र चम्किला बनेका बताए। उनले हिमपातले खेतबारीलाई मलजल पुर्याउने मात्र होइन, किसानको मनोबल पनि उच्च बनाउने बताए। वर्षा तथा हिमपात भएपछि धुलो हटेर रुघाखोकीजस्ता बिरामी पनि कम हुने उनको भनाइ छ।
यसअघि हिउँ नपर्दा किसानले डरले स्याउ बगैंचाको व्यवस्थापन गरेका थिए। हिउँले जमिनलाई चिस्यान प्रदान गर्ने भएकाले सिँचाइको काम सहज बनाउने कृषि विज्ञहरू बताउँछन्। अहिले पातारासी, काञ्जीरोवा, भुरीचुला र चिमारामालिका हिमालहरू सेताम्मे भएका छन्।
कृषि विकास कार्यालय, जुम्लाका अनुसार जिल्लाको जम्मा ३ हजार हेक्टर जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको छ। अधिकांश बाली सुख्खा पाखोबारीमा लगाइन्छ। यहाँ हिउँदे बालीका रूपमा रहेको जौ प्रति हेक्टर १ हजार ५ सय केजी उत्पादन हुने गरेको छ भने गहुँको उत्पादन २ हजार १ सय केजी रहेको छ।
समुद्र सतहदेखि २ हजार १ सय मिटरभन्दा उचाइमा रहेको जुम्लाको खेतीयोग्य जमिनमध्ये २१ हजार हेक्टर पाखोबारीले ओगटेको छ। यस्तो अवस्थामा हिमपात कृषि उत्पादनका लागि संजीवनी सावित हुने किसानहरूको भनाइ छ।































