पोखरा, १६ फागुन। नेपाली कांग्रेसले पाथीभरा केबलकारसम्बन्धी सिर्जित विवाद वार्ता र संवादमार्फत समाधान गर्न सकिने निष्कर्ष निकालेको छ। शुक्रबार सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले सरकारद्वारा हाल स्थगित केबलकार निर्माणको पक्षमा समर्थन जनाएको छ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले पाथीभरामा देखिएको समस्या समाधानका लागि कांग्रेस वार्ताका लागि तयार रहेको बताए। ‘सरकारले हाललाई केबलकार निर्माण स्थगित गरेको छ, जसलाई कांग्रेसले समर्थन गर्दछ। तर, ‘नो केबलकार’ भन्ने अभियानसँग भने हाम्रो सैद्धान्तिक सहमति छैन,’ उनले स्पष्ट पारे।

उनका अनुसार कांग्रेस कुनै पनि समस्या संवाद र छलफलमार्फत समाधान हुन सक्छ भन्ने मान्यतामा छ। ‘वार्ता गरेर उचित समाधान निकाल्न सकिन्छ, तर परियोजनालाई पूर्ण रूपमा रोक्ने कुरामा कांग्रेस सहमत हुन सक्दैन,’ घिमिरेले थपे। कांग्रेसले वार्ताका माध्यमबाट पाथीभरा क्षेत्रका सरोकारवाला पक्षहरूको चासो सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0