पोखरा, १६ फागुन। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक परिस्थिति सन्तुलनमा ल्याउन नेता डा. शेखर कोइरालाको साथ खोजेका छन्। संविधान संशोधनदेखि सत्ता साझेदारीसम्मका विषयमा विवाद बढिरहेका बेला देउवाले कोइरालालाई पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा बोलाएर छलफल गरेका हुन्।

शुक्रबार देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकमा संसद्मा अड्किएको अध्यादेश, स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन, र दल सम्बन्धी ऐनलगायतका विषयमा विस्तृत छलफल भएको थियो। देउवाले अघिल्लो महाधिवेशनमा आफ्नो प्रतिद्वन्द्वी रहेका शेखरलाई बैठकमा सामेल गराएर पार्टीभित्रको असन्तुष्टि कम गर्ने प्रयास गरेका छन्।

बैठकमा सत्तारुढ गठबन्धनभित्र देखिएको असहज परिस्थिति, विशेषगरी भूमि सम्बन्धी अध्यादेशका कारण सरकार अप्ठ्यारोमा परेको विषयमा गम्भीर छलफल भएको थियो। जनता समाजवादी पार्टीको भूमिकाले सरकारलाई राष्ट्रियसभामा आवश्यक बहुमत जुटाउन कठिन बनाइरहेको छ। यसले गर्दा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नै संकटमा पर्ने आशंका कांग्रेसभित्र बढेको छ।

स्ववियु निर्वाचनमा नेविसंघलाई जिताउने रणनीति, निर्वाचन ऐनका अड्किएका धाराहरू, र ताप्लेजुङको पाथीभरा केबलकार परियोजनाका विवादहरू बैठकको प्रमुख मुद्दा बने। कांग्रेसले सरकारद्वारा निर्माण स्थगित भएको केबलकार परियोजनालाई वार्ता र संवादमार्फत समाधान गर्नुपर्ने मत राखेको छ।

पार्टीभित्र बढ्दो आन्तरिक असन्तोष र सत्ता साझेदार दलहरूबीच बढ्दै गएको असमझदारीका बीच देउवाले कोइरालालाई सहकार्यमा ल्याउने रणनीति अवलम्बन गरेका छन्। पार्टीको आगामी महाधिवेशनमा कोइरालाको बढ्दो प्रभावलाई समेत ध्यानमा राख्दै देउवाले उनलाई विश्वासमा लिने प्रयास गरिरहेको देखिन्छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0