पोखरा, १९ फागुन। नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालका नेताहरू भिखारी जस्तै बनेको आरोप लगाएका छन्। सोमबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले विदेशी सहयोगमा निर्भर रहँदा मुलुकले युक्रेनजस्तो अवस्था व्यहोरन सक्ने चेतावनी दिए।
उनका अनुसार देशको उत्पादन प्रणाली कमजोर छ, जसका कारण नेपाल दुई महिनाभन्दा बढी आत्मनिर्भर हुन सक्दैन। उनले विदेशीको एजेन्ट बन्ने प्रवृत्ति मौलाउँदै गएको भन्दै यसको अन्त्य आवश्यक रहेको बताए।
कम्युनिस्ट शक्तिहरूबीच एकता आवश्यक रहेको बताउँदै विप्लवले देशको रूपान्तरण गफ चुट्ने नेताहरूले सम्भव नभएको उल्लेख गरे। उनका अनुसार श्रमविहीन राजनीति अब टिक्न सक्दैन, त्यसैले राजनीति गर्ने व्यक्तिहरू श्रमसंगै जोडिनुपर्ने समय आएको छ।
कर्णालीका विभिन्न स्थानमा एक महिना बिताएका विप्लवले जुम्लामा सात सय स्याउका बिरुवा रोपेका छन् भने कालिकोटमा भेडा फार्म उद्घाटन गरेका छन्। उनले स्थानीय उद्योग प्रवर्द्धनका लागि धागो र कपडा उद्योगबारे छलफल चलिरहेको जानकारी दिए।


























