पोखरा, १९ फागुन। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सम्भावित शान्ति सम्झौताका लागि संयुक्त राज्य अमेरिकासँग सर्त तय गर्न युरोपेली राष्ट्रहरूसँग सहकार्य गर्ने बताएका छन्। सोमबार सार्वजनिक उनको भनाइले युक्रेनमाथि बढ्दो अन्तर्राष्ट्रिय कूटनीतिक दबाबलाई स्पष्ट पारेको छ।

तीन वर्षदेखि रूसको आक्रमण झेलिरहेको युक्रेनले अमेरिकी समर्थन अनिश्चित बन्दै गएको अवस्थामा युरोपेली नेताहरूलाई आफ्नो पक्षमा संगठित गर्ने प्रयास गरिरहेको छ। हालैको आकस्मिक शिखर सम्मेलनमा १८ मित्रराष्ट्रका नेताहरू भेला भएका थिए, जसले किएभको रक्षा तथा शान्ति वार्ताका लागि नयाँ पहलबारे छलफल गरेका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई शान्ति सम्झौतामा बाध्य पार्न खोजेको आशंका बढिरहेका बेला युरोपेली नेताहरूले किएभको साथ दिनुपर्ने बताउँदै आएका छन्। बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले बेलायत, फ्रान्स तथा अन्य सहयोगी राष्ट्रहरूले युद्ध रोक्ने योजनामा काम गरिरहेको उल्लेख गरेका छन्।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले फ्रान्स र बेलायतले एक महिनाका लागि ‘आकाश, समुद्र र ऊर्जा पूर्वाधारमा’ आंशिक युद्धविरामको प्रस्ताव राख्न लागेको बताएका छन्। युक्रेनमा स्थायी युद्धविराम कायम राख्न फ्रान्स र बेलायत सेना तैनाथ गर्न समेत तयार रहेको जनाइएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0