पोखरा, २० फागुन। नेकपा एमालेको मोरङ जिल्ला अधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षधर नेताहरूबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। गुटगत राजनीति अन्त्यको दाबी गरिए पनि अधिवेशनमा अलग-अलग प्यानल प्रस्तुत भएपछि आन्तरिक विवाद झन् सतहमा आएको छ।

१६५ सदस्यीय जिल्ला कमिटी चयनका लागि मंगलबार मतदान हुँदैछ। अध्यक्ष पदमा ओली पक्षका राजकुमार ओझा र भण्डारी समूहका विनोद ढकाल पक्षका अजम्बर राई प्रतिस्पर्धामा छन्। ओझाको टिमबाट उपाध्यक्षमा शान्ति लिम्बू, सचिवमा रविन थापा, उपसचिवमा इर्जालाल राजवंशी र शिल्पा निराला कार्की छन् भने ढकाल समूहबाट उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्तवा र उषा झाले उम्मेदवारी दिएका छन्।

यसअघि ओलीले उपाध्यक्षमा शान्ति लिम्बूलाई नबनाउन निर्देशन दिएपछि विवाद चुलिएको थियो। ओलीले शिल्पा निराला कार्कीलाई उपाध्यक्ष बनाउन चाहेका थिए तर जिल्ला नेतृत्वले अन्तिमसम्म शान्तिको प्रचार गर्यो। अन्ततः सहमति जुट्न नसक्दा प्रतिस्पर्धा अनिवार्य बन्न पुग्यो।

यो अधिवेशनले मोरङमा एमालेको शक्ति सन्तुलन मात्र होइन, पार्टीभित्रको आगामी रणनीतिको संकेतसमेत दिने अनुमान गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0