पोखरा, २० फागुन। पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन गर्न दिएर भ्रष्टाचार गरेको आरोपमा सर्वोच्च अदालतले दोषी ठहर गरेका ९ जनामध्ये तीन जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ। पशुपतिको बालुवाखानी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका प्रेमराज जोशी, महेन्द्रलाल श्रेष्ठ र राजुकुमार रेग्मीलाई सीआईबीले पक्राउ गरेको हो।

सर्वोच्च अदालतले पशुपतिनाथको जग्गामा बालुवाखानी सञ्चालन गर्न दिएर भ्रष्टाचार गरेको आरोपमा एमाले नेता निर्मल कुइँकेल र कांग्रेस नेता सुशील नाहाटासहित ९ जनालाई दोषी ठहर गरेको थियो। सर्वोच्च अदालतमा मुद्दाको पुनरावेदनका लागि निवेदन गएको ८ वर्षपछि न्यायाधीश कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले विशेष अदालतको फैसला उल्टाएको हो।

सर्वोच्च अदालतले एमाले नेता कुइँकेलले ८३ लाख ४१ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको हो। विशेष अदालतले उनलाई त्यति नै जरिमाना हुने फैसला गरेको छ। पशुपति क्षेत्र विकास कोषका अर्का सदस्य सचिव सुशील नाहाटालाई ६ वर्ष कैद सजाय सुनाइएको थियो। उनले ९१ लाख ६३ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर छ। महेन्द्रलाल श्रेष्ठलाई ४ वर्ष कैद सजाय तोकिएको छ । काठमाडौं जिल्ला विकास समितिका तत्कालीन स्थानीय विकास अधिकारी गोपाल पराजुलीलाई ६ वर्ष कैद सजाय हुने फैसला भएको छ । अर्का स्थानीय विकास अधिकारी प्रेमराज जोशीमाथि ६ महिना कैद सजायको फैसला भएको छ । सर्वोच्च अदालतले बालुवाखानीको ठेक्का पाएका बच्चुराम दाहालबाट १२ करोड ९९ लाख रुपैयाँ असुल्नुपर्ने फैसला गरेको छ ।

नियमविपरीत बालुवाखानी सञ्चालनको स्वीकृति दिएर पशुपतिनाथको आम्दानी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई ठेकेदारसहित ९ जनाविरुद्ध २०७१ साल माघमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अख्तियारले विशेष अदालतमा दर्ता गरेको अभियोगपत्रमा गुरुयोजना बनाएर व्यवस्थित पूर्वाधार र संरचना विकास गर्नुपर्ने क्षेत्रमा बालुवाखानी सञ्चालन गरेर कोषको सम्पत्ति दुरुपयोग गरेको आरोप लगाइएको थियो।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0