काठमाडौँ, २० फागुन। भोलि बुधबार मध्याह्न १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको पाँचवटा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस हुने भएको छ। प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको आजको बैठकले पाँचवटा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची तय गरेको हो।

सरकारले ल्याएको छ वटा अध्यादेशमध्ये ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीले विपक्षमा देखिएपछि सरकारले रोकेको छ। अन्य पाँचवटा अध्यादेशलाई भने संसदमा लैजाने तयारी भएको छ।

संसदमा पेस हुने अध्यादेशहरूमा ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, र ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ रहेका छन्।

यसअघि गत माघ २४ गतेको प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा चढाएर पनि स्थगित गरिएको थियो। झन्डै एक महिनापछि अध्यादेश अगाडि बढाउनेसम्बन्धी कार्यक्रम कार्यसूचीमा परेको हो। प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई ह्विप जारी गरेका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0