पोखरा, २१ फागुन। ह्वाइट हाउसमा भएको तनावपूर्ण वार्तापछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग मिलेर युक्रेनमा दीर्घकालीन शान्तिका लागि काम गर्न आफू तयार रहेको बताएका छन्। उनले अमेरिकी सैन्य सहायता स्थगित भएको समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गरेका हुन्।
बीबीसीका अनुसार, गत हप्ता वासिङ्टन डीसीमा भएको बैठक अपेक्षित रूपमा सफल हुन सकेन। ट्रम्पले जेलेन्स्कीलाई कृतज्ञ नभएको आरोप लगाएपछि वार्ता थप तनावग्रस्त बनेको थियो। ट्रम्पले अमेरिकी संसद्मा सम्बोधन गर्दै युक्रेन “चाँडै शान्ति वार्ताका लागि तयार भएको” बताएका छन् भने जेलेन्स्कीले अमेरिकासँगको सहकार्यलाई प्राथमिकता दिने संकेत गरेका छन्।
जेलेन्स्कीले युद्ध अन्त्यका लागि तयार गरेको प्रारूप सार्वजनिक गर्दै युद्धबन्दीहरूको अदल-बदल, हवाई हमलामा रोक, लामो दूरीका क्षेप्यास्त्र तथा ड्रोनहरूमा प्रतिबन्ध, र गैरसैनिक पूर्वाधारमाथिको आक्रमण रोक्ने प्रस्ताव अघि सारेका छन्। उनले रुसले पनि यस्ता प्रतिबन्धलाई पालना गरे समुद्रमा समेत युद्धविराम गर्न सकिने बताएका छन्।
यसैबीच, नेटोका महासचिव मार्क रुटले ट्रम्पसँग पुनः सम्बन्ध सुधार्न जेलेन्स्कीलाई आग्रह गरेका छन्। बीबीसीका अनुसार, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि जेलेन्स्कीलाई “अमेरिकाले दिएको सहयोगप्रति कृतज्ञ नभएको” आरोप लगाएका थिए। बैठकमा अमेरिकी सहयोगबारे आभार नजनाएको आरोप लागेपछि जेलेन्स्कीले सार्वजनिक रूपमा अमेरिका र अमेरिकी जनताप्रति धन्यवाद व्यक्त गरेका छन्।
युक्रेनी खनिजमा अमेरिकालाई विशेष पहुँच दिने विषयमा वार्ता हुने अपेक्षा गरिएको थियो, तर वार्ताको अप्रत्याशित अन्त्यपछि कुनै सम्झौता भएन। ट्रम्पले जेलेन्स्कीलाई “तेस्रो विश्वयुद्ध निम्त्याउन खोजेको” आरोप लगाउँदै सहमति नबनेसम्म अमेरिकाले सैन्य सहायता स्थगित रहने चेतावनी दिएका छन्।
अमेरिकाको निर्णयप्रति क्रेम्लिनले सकारात्मक प्रतिक्रिया दिएको छ। बीबीसीका अनुसार, रुसी प्रवक्ता दिमित्री पेस्कोभले “अमेरिकी सहायता रोकिएमा शान्ति प्रक्रियाका लागि उत्तम आधार बन्न सक्ने” प्रतिक्रिया दिएका छन्।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने युद्ध अन्त्यका लागि अमेरिकासँग सहकार्य गर्न आफूहरू तत्पर रहेको उल्लेख गरेका छन्। उनले आगामी वार्ताहरू सौहार्दपूर्ण हुने विश्वास व्यक्त गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पसँग छलफलका लागि खुला रहेको बताएका छन्।


























