पोखरा, २२ फागुन। बुद्ध जन्मस्थल लुम्बिनीमा चौथो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन सुरु भएको छ। उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले एक समारोहका बीच त्रिपिटक पाठको शुभारम्भ गरेका हुन्। अखिल नेपाल भिक्षु महासंघको आयोजनामा तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सहआयोजनामा त्रिपिटक वाचन कार्यक्रम शुरू गरिएको हो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री सिंहले वर्तमान विश्वमा बढ्दो अस्थिरताका बीच बुद्धका शिक्षाले शान्ति कायम गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए। उनले त्रिपिटक पाठबाट लुम्बिनीबाट शान्तिको सन्देश विश्वभर फैलने विश्वास व्यक्त गरे। सिंहले लुम्बिनी विकास कोषलाई पूर्वाधार विकाससँगै यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमलाई प्रवर्द्धन गर्न सुझाव दिए।

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बुद्धका उपदेशहरूलाई विश्वभर फैलाउन त्रिपिटक पाठ कार्यक्रम फलदायी हुने बताए। उनले थेरवाद, महायान र ब्रज्रयान परम्पराहरूलाई एकीकृत गर्दै बुद्धका शिक्षालाई विश्वव्यापी बनाउनुपर्ने धारणा राखे।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लुम्बिनी क्षेत्रलाई ‘स्प्रिच्युअल लाइटिङ’ प्रविधिबाट उज्यालो बनाउने प्रतिबद्धता व्यक्त गरे। त्रिपिटक, जसलाई गौतम बुद्धले ४५ वर्षसम्म प्रदान गरेको ज्ञान र धर्म देशनाको संग्रह मानिन्छ, तीन भाग— अपि धम्म शुत्र पिटक, शुत्त पिटक, र विनय पिटक मिलेर बनेको ग्रन्थ हो।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0