पोखरा, २२ फागुन। तनहुँ भीमाद नगरपालिका-२ धरमपानीबाट पाँच दिनअघि बेपत्ता भएका ३६ वर्षीय महेश सुवेदी मृत फेला परेका छन्। फागुन १७ गते बिहान घरबाट हराएका सुवेदीको शव भीमाद र स्याङ्जाको सीमामा रहेको कुलुङ खोला किनारमा भेटिएको हो।
बेपत्ता भएपछि परिवारले प्रहरीमा निवेदन दिएर खोजी कार्य थालेका थिए। भीमादसहित स्याङ्जाका विभिन्न स्थानमा खोजी गर्दा पनि सुवेदीको कुनै सुराग भेटिएको थिएन। उनी हराएको बिहान सवा ५ बजे मोबाइल सम्पर्कमा आए पनि आफ्नो अवस्थाबारे स्पष्ट जानकारी नदिई फोन अफ भएको थियो।
सुवेदीको शव फेला परेपछि इलाका प्रहरी कार्यालय बेलचौताराको टोली इन्स्पेक्टर पोषण केसीको नेतृत्वमा घटनास्थल पुगेको थियो। शवलाई पोस्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको छ। पोस्टमार्टमपछि मात्र मृत्युको कारण थाहा हुने प्रहरीले जनाएको छ।
महेश हाल कावासोती नगरपालिका-३ मध्यविन्दु टोलमा बस्दै आएका थिए। भतिजहरूको ब्रतबन्धका लागि उनी केही दिनअघि मात्रै धरमपानी पुगेका थिए। उनका ठूली छोरी र उनी कावासोतीमा बस्दै आए पनि श्रीमती र सानी छोरी लमजुङमा बस्दै आएका थिए। श्रीमती स्वास्थ्यकर्मी भएको बताइएको छ। परिवारका अनुसार बिहीबार नै उनको शव देवघाटमा अन्त्येष्टि गरिनेछ।
































