पोखरा, २३ फागुन। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली महिला आन्दोलनले हासिल गरेका उपलब्धिहरू विश्वका लागि प्रेरणादायक बनेको बताएकी छन्। अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा अनलाइनखबरले सार्वजनिक गरेको ‘५० प्रभावशाली महिलाहरू’ को सूची सार्वजनिक कार्यक्रममा विशेष सम्बोधन गर्दै उनले नेपाली महिलाहरूले राजनीतिदेखि न्यायालयसम्म उच्च नेतृत्वदायी भूमिका निर्वाह गरिसकेको उल्लेख गरिन्।

उनले २०६२/६३ को जनआन्दोलनपछि नेपालको प्रतिनिधिसभाले महिलासम्बन्धी विशेष प्रस्ताव पारित गरेको र त्यसकै जगमा नेपालको संविधानले महिला अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गरिन्। उनका अनुसार, महिला समानताको हक, समानुपातिक सहभागिता, प्रजनन स्वास्थ्य अधिकार, हिंसाविरुद्धको संरक्षणजस्ता विषयहरू राज्यका दायित्वका रूपमा स्थापित भएका छन्।

भण्डारीका अनुसार, संघ, प्रदेश र स्थानीय तहका संरचनामा एक तिहाइ महिला सहभागिता सुनिश्चित भएको छ। शिक्षादेखि प्रविधिसम्म महिलाको भूमिका उल्लेखनीय रूपमा बढेको बताउँदै उनले नेपाली महिलाहरूले राष्ट्रपतिदेखि प्रधानन्यायाधीशसम्मका उच्च पदमा पुगेको उल्लेख गरिन्। उनले यो यात्राले नेपाललाई महिला सशक्तीकरणको क्षेत्रमा विश्वकै अग्रमोर्चामा उभ्याएको बताइन्।

आफू राष्ट्रपतिका रूपमा रहँदा राष्ट्रपति महिला उत्थान कार्यक्रम, शैक्षिक सुधार कार्यक्रम तथा दुर्गम क्षेत्रका गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार जस्ता अभियानहरू थालनी गरेको स्मरण गराउँदै उनले यी कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन्। विशेष गरी दुर्गम क्षेत्रमा हवाई उद्धारसँगै एम्बुलेन्स सेवा विस्तारको आवश्यकता औंल्याइन्।

महिला समानता केवल अधिकार प्राप्तिमा मात्र सीमित नभएर जिम्मेवारीको समान वितरणमा पनि केन्द्रित हुनुपर्ने बताउँदै उनले लैङ्गिक समानता महिला र पुरुष दुवैको साझा विषय भएको स्पष्ट पारिन्। उनले महिला, बालबालिका, ज्येष्ठ नागरिक र सिमान्तीकृत समुदायका लागि सामाजिक सुरक्षा योजनामा राज्यले लगानी बढाउनुपर्नेमा जोड दिइन्।

रोजगारी तथा गुणस्तरीय शिक्षाको खोजीमा ठूलो संख्यामा युवा जनशक्ति तथा आर्थिक स्रोत विदेश पलायन भइरहेको सन्दर्भमा स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकतामा उनले बल दिइन्। साथै, स्वदेशी उत्पादन तथा उत्पादकत्व वृद्धिले मात्र राष्ट्रिय अर्थतन्त्र सबल हुने उनको भनाइ थियो।

अनलाइनखबरले सार्वजनिक गरेको प्रभावशाली महिलाहरूको सूचीबारे बोल्दै उनले समाजको विविध क्षेत्रमा योगदान पु¥याइरहेकाहरूलाई उजागर गर्ने अभियान सराहनीय रहेको बताइन्। महिलाहरूको योगदानको कदर गर्दै उनीहरूको सफलतालाई प्रचारप्रसार गर्नु समाजको दायित्व भएको उल्लेख गर्दै उनले अभियानलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरिन्।

समाजका विभिन्न क्षेत्रमा योगदान दिँदै पहिचान पाउन नसकेका महिलाहरूलाई अझै सक्रिय रहन आग्रह गर्दै उनले यस अभियानमा संलग्न सम्पूर्णलाई धन्यवाद दिइन्। अन्त्यमा, उनले ५० प्रभावशाली महिलाहरूलाई बधाई तथा आगामी दिनमा अझ उच्च सफलता प्राप्त गर्न शुभकामना दिइन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0