पोखरा, २३ फागुन। नेपाली पूँजी बजारमा म्युचुअल फन्डको लगानी उच्चरूपमा वाणिज्य बैंकहरूको सेयरमा रहेको छ। माघ मसान्तसम्म सार्वजनिक भएको तथ्यांकअनुसार, म्युचुअल फन्डले कुल लगानीको ३७.५ प्रतिशत वाणिज्य बैंकमा गरेका छन्।

म्युचुअल फन्डले हाल ५७ अर्ब २९ करोड रुपैयाँको सम्पत्ति व्यवस्थापन गरिरहेका छन्। दोस्रो बजारमा मात्रै ७६.१३ प्रतिशत अर्थात् ४३ अर्ब ६२ करोड रुपैयाँ लगानी भएको छ। साथै, १६.१८ प्रतिशत नगद रूपमा राखिएको छ, जुन आवश्यक परेमा सेयर बजारमा परिचालन गर्न सकिनेछ। त्यस्तै, ४ अर्ब ३९ करोड रुपैयाँ मुद्दती निक्षेपमा राखिएको छ, जुन कुल सम्पत्तिको ७.६७ प्रतिशत हो। नियमअनुसार, म्युचुअल फन्डले १५ प्रतिशतसम्म मात्र मुद्दती निक्षेपमा राख्न सक्छन्।

साउन मसान्तसम्म म्युचुअल फन्डको आकार ६१ अर्ब रुपैयाँ बराबर रहेकामा केही बन्दमुखी योजनाहरूको खारेजीसँगै हाल घटेर ५७ अर्ब २९ करोडमा सीमित भएको छ। ‘सिटिजन्स म्युचुअल फन्ड १’ र ‘सानिमा इक्विटी फन्ड’ खारेज भएसँगै फन्डको आकार संकुचित भएको हो।

वाणिज्य बैंकपछि म्युचुअल फन्डको दोस्रो ठूलो लगानी ११.७१ प्रतिशत हाइड्रोपावर क्षेत्रमा रहेको छ। विकास बैंकमा ११.६६, जीवन बीमामा १०.५५, निर्जीवन बीमामा ९.९० र माइक्रोफाइनान्स क्षेत्रमा ८.६३ प्रतिशत लगानी भएको छ। बाँकी १० प्रतिशत रकम उत्पादन, होटल तथा पर्यटन, संस्थागत फन्ड तथा अन्य क्षेत्रमा लगानी गरिएको छ।

म्युचुअल फन्डमा कम्पनीहरूको छनोटका लागि अनुसन्धान गर्ने छुट्टै रिसर्च टिम रहेको हुन्छ। सोही टिमले विभिन्न वित्तीय सूचकहरूको मूल्यांकन गरी लगानीका लागि कम्पनी छनोट गर्छ। सेयर मूल्य घटबढ हुने प्रवृत्तिलाई मध्यनजर गर्दै, फन्डहरूले मूल्य वृद्धि भएको अवस्थामा नाफा लिने तथा घटेको अवस्थामा औसत मूल्यलाई समायोजन गर्ने रणनीति अपनाउने गरेका छन्।

साधारण लगानीकर्ताले म्युचुअल फन्डको लगानी रणनीति अध्ययन गरी लगानी गर्न सक्ने विज्ञहरू बताउँछन्। फन्डले कुनै कम्पनीमा लगानी बढाएको अवस्थामा सोही कम्पनीमा न्यून मूल्यमा लगानी गर्नु उपयुक्त हुन सक्छ। तर, छोटो अवधिमा ती फन्डहरूले होल्डिङ बेच्ने सम्भावना समेत हुने भएकाले लगानीकर्ता सचेत हुनुपर्ने बताइन्छ।

म्युचुअल फन्ड दैनिक रूपमा सेयर किनबेच गरिरहेका हुन्छन्। मूल्य वृद्धि भएको अवस्थामा सेयर बिक्री गरी नाफा सुरक्षित गर्ने तथा मूल्य घट्दा खरिद गरी लगानी रणनीति बनाउने प्रवृत्ति उनीहरूको छ। यस कारण, साधारण लगानीकर्ताले म्युचुअल फन्डको अध्ययन तथा रणनीतिलाई राम्ररी मूल्यांकन गरेर मात्र लगानी निर्णय गर्नु उपयुक्त हुने विज्ञहरूको सुझाव छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0