पोखरा, २३ फागुन। चलचित्र विकास बोर्डमा आयोजित तीन दिने महिला चलचित्र महोत्सव सम्पन्न भएको छ। बोर्ड अन्तर्गतको महिला चलचित्रकर्मी सशक्तीकरण समितिको आयोजनामा भएको यस महोत्सवको तेस्रो र अन्तिम दिन बिहीबार सामाजिक संस्था माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला प्रमुख अतिथि भएर सहभागी थिइन्। महोत्सवको उद्घाटन काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले गरेकी थिइन्।
महोत्सवको अवसरमा ऐतिहासिक नेपाली चलचित्र ‘सिन्दूर’ प्रदर्शन गरिएको थियो। यस चलचित्रका कलाकारहरूको मुहारचित्र ललितकलाका विद्यार्थीहरूले तयार पारेका थिए। महोत्सवको दोस्रो दिन पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले प्रमुख अतिथिको रूपमा उपस्थिति जनाइन्।
त्यस दिन महिलाले महिलाको विषयमा निर्माण गरेका लघु चलचित्रहरूको प्रदर्शन गरिएको थियो। उक्त अवसरमा चलचित्र निर्देशक र कलाकार रेखा थापा र स्वस्तिमा खड्कासँग छलफल गरिएको थियो।
बिहीबार महिलाप्रधान नाटक ‘दृश्य परिदृश्य’ को मंचन गरियो र घरेलु फिल्मको विकासमा योगदान पुर्याउने सात जना महिला स्रष्टालाई सम्मान प्रदान गरियो। सम्मानित हुनेमा अभिनेत्रीहरू करिश्मा मानन्धर, रश्मी भट्ट, सरिता साह, पशुपति राई, थिन्ले ल्हामो, पत्रकार गीता अधिकारी र मेकअप कलाकार शोभा श्रेष्ठ रहेका छन्।






























