पोखरा, २४ फागुन। प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको वक्तव्यपछि देशभर राजतन्त्रको बहस चर्किएको छ। उक्त अभिव्यक्तिपछि राजावादीहरू उत्साहित बनेका छन् भने प्रमुख राजनीतिक दलका नेताहरू एक स्वरमा त्यसको प्रतिवाद गर्दै गणतन्त्र अपरिवर्तनीय रहेको बताएका छन्।

पूर्वराजाको अभिव्यक्तिपछि राजावादीहरूले काठमाडौं, पोखरा, बुटवल, धनगढी र नेपालगञ्जलगायतका सहरमा प्रदर्शन गरेका छन्। पूर्वराजा २५ फागुनमा पोखराबाट काठमाडौं फर्किंदा उनलाई विमानस्थलमा भव्य स्वागत गर्ने योजना समेत बनेको छ। राजावादी समूहका अगुवाहरूले राजसंस्थाको पुनःस्थापनाका लागि जनतामा चेतना जगाउने अभियान सञ्चालन गरिरहेका छन्।

तर, नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूले यसप्रति कडा आपत्ति जनाएका छन्। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजालाई खुला चुनौती दिँदै यदि लोकप्रिय नै छन् भने चुनाव लड्न आग्रह गरेका छन्। ‘छायाँबाट राजनीति गर्ने होइन, संविधानअनुसार आउनुपर्छ। लोकप्रिय हुनुहुन्छ भने चुनाव लड्नुस्, पार्टी खोल्नुस्,’ ओलीले महोत्तरीमा आयोजित कार्यक्रममा भने।

प्रधानमन्त्री ओलीले गणतन्त्र नेपाली जनताले स्थापित गरिसकेको भन्दै अब कुनै पनि बहानामा राजतन्त्र फर्किन नसक्ने दाबी गरे। ‘बेकारको तनाव नबढाऔं, सामन्ती व्यवस्थालाई इतिहास बनाइसकिएको छ। कुनै पनि बहानामा राजतन्त्र फर्किँदैन,’ उनले थपे।

यसैबीच, कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्वराजाले नै अलोकतान्त्रिक कदम चालेर गणतन्त्र आउन बाध्य बनाएको टिप्पणी गरे। ‘नेताहरूलाई थुन्ने, यातना दिने, प्रजातान्त्रिक अधिकार कुन्ठित गर्ने कामकै कारण जनताले राजतन्त्रलाई अस्वीकार गरे,’ देउवाले भने। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सामन्ती प्रेतहरूले फेरि टाउको उठाउन खोजेको भन्दै इतिहास उल्ट्याउने प्रयास सफल नहुने चेतावनी दिए।

सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजसंस्था फेरि फर्किन्छ भन्ने कल्पना गर्नु नै मूर्खता भएको बताए। ‘पूर्वराजालाई नागार्जुन दरबारमा बस्न दिनु हाम्रो उदारता हो। तर, व्यवस्थामाथि प्रहार गरेर पुनः फर्किन खोज्नु हैसियत भुल्नु हो,’ उनले स्पष्ट पारे।

पूर्वराजाको अभिव्यक्तिलाई समर्थन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले देशभर सभा, जुलुस आयोजना गरिरहेको छ। उनीहरूले फागुन २५ गते ज्ञानेन्द्रलाई विमानस्थलमा स्वागत गर्न आह्वान समेत गरेका छन्। तर, अन्य दलहरू भने यो अभियानमा सहभागी छैनन्।

यसै क्रममा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पूर्वराजाको अभिव्यक्ति गणतान्त्रिक मूल्य–मान्यता विपरीत रहेको भन्दै सरकारले आवश्यक परे कारबाही गर्नुपर्ने बताए। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पनि राजसंस्थाका पक्षधरहरूको गतिविधिप्रति आपत्ति जनाएका छन्।

राजतन्त्र पुनःस्थापनाको पक्षमा देखिएको राजनीतिक गतिविधिप्रति सत्तापक्ष र प्रमुख दलहरू आक्रामक देखिएका छन्। उनीहरूले गणतन्त्रलाई स्थापित गरिसकिएको भन्दै अब कुनै पनि दबाब वा अभियानले व्यवस्था उल्टन नसक्ने चेतावनी दिएका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0