पोखरा, २६ फागुन। प्रजातन्त्र दिवसको अवसरमा पोखराबाट अर्थपूर्ण भिडियो सन्देश जारी गरेर काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा राजावादीहरुले भव्य शक्ति प्रदर्शन गरेका छन्। आइतबार दिउँसो समिट एयरको चार्टर्ड उडानमार्फत काठमाडौं आइपुगेका शाहलाई उनका समर्थकहरुले जुलुससहित निर्मल निवाससम्म पुर्याएका थिए।
पूर्वराजा शाहको आगमनलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजसंस्थाप्रति आस्था राख्ने दल तथा समूहहरु व्यापक रूपमा सक्रिय बनेका थिए। शाहको सात फागुनको अभिव्यक्तिपछि राजसंस्थावादीहरु हौसिएका थिए। उनले देशको उन्नतिका लागि त्याग गर्न तयार रहेको भन्दै राष्ट्रिय एकता आवश्यक रहेको सन्देश दिएका थिए। त्यसै सन्देशलाई समर्थन गर्दै राप्रपाले पूर्वराजाको स्वागतलाई ऐतिहासिक बनाउने उद्देश्यले आमसभा समेत तय गरेको थियो, तर शाह आउने निश्चित भएपछि सभा स्थगित गर्दै स्वागत कार्यक्रमलाई प्राथमिकता दिइएको थियो।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र आइतबार दिउँसोदेखि नै राजावादीहरुको भीडले भरिएको थियो। शाहको आगमनका कारण तिनकुने, गौशाला, बानेश्वर हुँदै विमानस्थल जाने सडक अस्तव्यस्त बनेको थियो। प्रहरीले ट्राफिक व्यवस्थापन सहज बनाउन वैकल्पिक मार्ग अपनाएको थियो। गृह मन्त्रालयको रिपोर्टअनुसार सो प्रदर्शनमा करिब १५ हजार मानिस सहभागी थिए। तर, राप्रपाका नेताहरुले भने संख्या एक लाख हाराहारी पुगेको दाबी गरेका छन्।
राजावादीहरुका प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षालाई सशक्त बनाइएको थियो। उपत्यका प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार, राजसंस्थावादीको भेलाले कुनै अप्रिय घटना नहोस् भन्नका लागि प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको संयुक्त सुरक्षा योजना लागू गरिएको थियो। विमानस्थल क्षेत्र, गौशाला, चावहिल, बानेश्वर तथा बालुवाटार आसपासमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको थियो।
पूर्वराजा शाह विमानस्थलबाट बाहिरिएपछि राजावादीहरुले “राजा आउ, देश बचाउ” जस्ता नारा लगाएका थिए। उनी बालुवाटार हुँदै निर्मल निवास प्रवेश गर्दा सडकका दुबै किनारमा उनका समर्थकहरु लामबद्ध थिए। हिन्दू धर्मगुरुहरु समेत उनलाई स्वागत गर्न उपस्थित थिए।
राप्रपाले प्रदर्शनलाई नयाँ राजनीतिक समझदारीको सन्देशका रूपमा लिएको छ। प्रवक्ता मोहन श्रेष्ठका अनुसार, यो आन्दोलन पूर्वराजा शाहको स्वागत मात्र नभई राजनीतिक दलहरुलाई गणतन्त्रबारे पुनर्विचार गर्न दवाब दिने रणनीतिक प्रदर्शन हो। उनले भने, “संवाद र सहमतिबाट नवीन समझदारी खोज्नुपर्छ, नत्र प्रिय-अप्रिय सबै गतिविधि भोग्न तयार हुनुपर्छ।”

तर, राजनीतिशास्त्री डा. लोकराज बराल भने अहिलेको सन्दर्भमा १५ हजार मानिस सडकमा उत्रिनु ठूलो उपलब्धि नभएको बताउँछन्। उनले राजसंस्थालाई पुनर्स्थापित गर्न ठोस आधार आवश्यक पर्ने बताउँदै भने, “राजसंस्थाको पक्षमा एक लाख मानिस आए पनि त्यो परिवर्तनको कारण बन्दैन। शाहकै शासनकालमा नागरिक स्वतन्त्रता कुण्ठित भएको इतिहास भएकाले जनता पुनः राजसंस्थाप्रति आकर्षित हुने सम्भावना कम छ।”
राजनीतिक विश्लेषकहरुले राप्रपाको यो प्रदर्शनलाई असन्तुष्ट समूहको शक्ति प्रदर्शनका रूपमा व्याख्या गरेका छन्। गणतन्त्र पक्षधर नेताहरुले भने शाह गणतन्त्र भएकै कारण आफ्ना समर्थक भेला गर्न पाएको टिप्पणी गरेका छन्। मानवअधिकारकर्मी कृष्ण पहाडी भन्छन्, “राजसंस्था फर्काउन अब सम्भव छैन, तर वर्तमान दलहरु सुध्रन सकेनन् भने असन्तुष्टिका स्वरहरु बढ्न सक्छन्।”

पूर्वराजा शाहको पछिल्लो सक्रियता र उनका समर्थकहरुको प्रदर्शनले नेपालको राजनीतिक बहसमा नयाँ आयाम थपिएको छ। तर, राजसंस्था पुनर्स्थापना सम्भव छ वा छैन भन्ने प्रश्नमा स्पष्ट उत्तर दिन राजनीतिक पर्यवेक्षकहरु अझै सतर्क देखिन्छन्।




























