पोखरा, २६ फागुन। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा धार्मिक भ्रमणका सिलसिलामा आज भारत प्रस्थान गरेकी छन्। उनले झारखण्डस्थित बाबा वैद्यनाथ धाममा पूजाआजा गर्ने कार्यक्रम रहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई तथा अन्य उच्च अधिकारीहरूले उनलाई बिदाई गरेका थिए।
धार्मिक यात्रापछि मन्त्री राणा भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुने ‘राइसिना डायलग’ कार्यक्रममा सहभागी हुनेछिन्। भारत सरकारको निमन्त्रणामा आयोजना हुने उक्त कार्यक्रममा विभिन्न देशका प्रधानमन्त्री तथा विदेशमन्त्रीहरूको उपस्थिति रहनेछ। मन्त्री राणाले उक्त कार्यक्रममा नेपालका तर्फबाट सम्बोधन गर्नेछिन्।
यस भ्रमणका क्रममा उनले आफ्नो नियमित स्वास्थ्य जाँचको फलोअप समेत गर्ने कार्यक्रम छ। मन्त्री राणाको यो भ्रमण धार्मिक, कूटनीतिक र व्यक्तिगत उद्देश्यसहितको रहेको छ।





























