पोखरा, २६ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिइएको सम्पत्तिको हकको प्रयोग गर्दै निजी विद्यालयलाई ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ। उहाँले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को १६ औं राष्ट्रिय महाधिवेशनको सोमबार उद्घाटन गर्दै यस्तो अनुरोध गर्नुभएको हो।

प्रधानमन्त्री ओलीले सो अवसरमा निजी विद्यालयलाई पाँच वर्षभित्र गुठीमा लानुपर्ने प्रस्ताव आएपछि आफू छक्क परेको कुरा पनि व्यक्त गर्नुभयो। उहाँले सरकारको जिम्मेवारी कक्षमा रहेका बालबालिकालाई निःशुल्क शिक्षा दिने र यसमा निजी क्षेत्रको पनि सहयोग अपेक्षित रहेको स्पष्ट पार्नुभयो।

प्रधानमन्त्री ओलीले निजी विद्यालयका सञ्चालकलाई थप लगानी गर्न प्रोत्साहित गर्दै भने, “शिक्षा क्षेत्रमा लगानी गर्नुस्, नियम र कानुनी प्रावधान अनुसार सम्पत्तिको हकको प्रयोग गर्नुस्। यो उद्योग होइन, अत्यधिक मुनाफा ननिकाल्नुहोस्।” उहाँले शिक्षामा लगानी गरेर गुणस्तरीय शिक्षा प्रदान गर्दै दक्ष र कुशल नागरिक उत्पादन गर्न निर्देशन दिनुभयो।

उहाँले यो अवसरमा विद्यार्थीलार्इ देशभक्ति, स्वाधीनता र वीरताको इतिहास सिकाउन जोड दिँदै अरूको दान र दक्षिणामा भर नपरी आफ्नै पाखुरामा विश्वास गर्न आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा प्याब्सनका पूर्व अध्यक्ष भोजबहादुर शाह, लक्ष्यबहादुर केसी, डा. विजय सम्बाहाम्फे लगायतलाई प्याब्सन गौरव र प्याब्सन रत्न सम्मान प्रदान गरिएको थियो।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0