पोखरा, २६ फागुन। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको सात महिनाको तथ्यांकले मुलुकका बहु अर्थशास्त्रीय सूचकहरू बलिया देखिए पनि बजारमा भने मागको मन्दी कायमै रहेको देखिएको छ। उपभोक्ता मुद्रास्फीति, विदेशी मुद्रा सञ्चिति, ब्याजदर, तथा भुक्तानी सन्तुलन जस्ता सूचकहरू सुधारोन्मुख भए पनि आयात तथा कर्जाको विस्तारजस्ता सूचक भने अपेक्षाकृत सुधार देखाउन सकेका छैनन्।

बैंकको तथ्यांकअनुसार वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१६ प्रतिशतमा सीमित रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा घटेको हो। खाद्य तथा पेय पदार्थ समूह तथा गैर–खाद्य तथा सेवा समूह दुवैमा मूल्यवृद्धि नियन्त्रणमा रहेको देखिए पनि घ्यू, तेल तथा दाल, गेडागुडी जस्ता अत्यावश्यक वस्तुको मूल्य उल्लेख्य रूपमा बढेको छ। यसमध्ये घ्यू तथा तेलको मूल्य १२.८० प्रतिशतले र दाल, गेडागुडीको मूल्य ९.०६ प्रतिशतले वृद्धि भएको छ, जसले उपभोक्ताहरूलाई अझै पनि महँगीको मारमा पारिरहेको छ।

देशको समग्र आर्थिक स्थितिमा रेमिट्यान्सको भूमिका महत्त्वपूर्ण रहँदै आएको छ। चालू आर्थिक वर्षको सात महिनामा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भएर ९ खर्ब पुगेको छ। यद्यपि, अघिल्लो वर्षको सोही अवधिमा यो वृद्धिदर १८.८ प्रतिशत रहेको थियो। अमेरिकी डलरको हिसाबमा पनि विप्रेषण वृद्धि ५.३ प्रतिशतमा सीमित रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा सुस्त देखिन्छ।

देशको कुल विदेशी मुद्रा सञ्चिति भने मजबुत अवस्थामा पुगेको छ। २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब रहेको सञ्चिति माघ मसान्तसम्म आइपुग्दा १६.१ प्रतिशतले वृद्धि भई २३ खर्ब ६९ अर्ब पुगेको छ। अमेरिकी डलरको हिसाबले पनि सञ्चिति ११.७ प्रतिशतले बढेको छ, जसले देशको आयात क्षमता मजबुत रहेको देखाउँछ। हालको सञ्चिति अनुसार नेपालले १७.२ महिनासम्म वस्तु आयात तथा १४.४ महिनासम्म वस्तु तथा सेवा आयात धान्न सक्छ।

तर, बजारमा मागको अवस्था अझै पनि कमजोर नै देखिन्छ। आर्थिक वर्ष २०८१/८२ को सात महिनामा कुल वस्तु निर्यात ४६.५ प्रतिशतले वृद्धि भएर १ खर्ब २७ अर्ब २० करोड पुगेको छ। तर, आयात वृद्धिदर भने १० प्रतिशतमा सीमित रहेको छ, जसले आन्तरिक माग कमजोर रहेको संकेत गर्छ। मुख्यतया, सोयाबिन तेलको कच्चा पदार्थ आयातको वृद्धिले कुल आयातलाई केही थामथुम पार्न मद्दत गरे पनि अन्य क्षेत्रहरूको आयातमा उल्लेख्य वृद्धि देखिएको छैन।

ब्याजदर घटेसँगै बैंक तथा वित्तीय संस्थाहरूले कर्जाको विस्तार गर्ने अपेक्षा गरिएको थियो। तर, यस अवधिमा कर्जाको विस्तार उत्साहजनक देखिएको छैन। वाणिज्य बैंकहरूको औसत आधार दर २०८१ माघमा ६.४६ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्ष ९.०६ प्रतिशत थियो। यस्तै, विकास बैंकहरूको आधार दर ८.५२ प्रतिशत र वित्त कम्पनीहरूको ९.३९ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा कम हो।

ब्याजदर घटेपनि बैंकहरूले निजी क्षेत्रलाई प्रवाहित गर्ने कर्जाको वृद्धिदर सीमित रहेको छ। चालू आर्थिक वर्षको सात महिनामा निजी क्षेत्रलाई प्रवाहित कर्जा ५.६ प्रतिशतले मात्रै वृद्धि भएर २ खर्ब ८३ अर्ब ४६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ४.१ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा पनि कर्जा प्रवाहको वृद्धिदर ७.३ प्रतिशतमा सीमित रहनु बैंकिङ क्षेत्रको ढिलो गति दर्शाउँछ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप वृद्धि पनि अघिल्लो वर्षको तुलनामा सुस्त देखिन्छ। यो अवधिमा बैंक निक्षेप ३.८ प्रतिशतले मात्र बढेर २ खर्ब ४५ अर्ब ३४ करोड पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा निक्षेप वृद्धिदर ७ प्रतिशत रहेको थियो। विस्तृत मुद्राप्रदाय पनि ४.४ प्रतिशतले मात्र वृद्धि भएको छ, जुन अघिल्लो वर्षको ७ प्रतिशतको वृद्धिदरभन्दा निकै कम हो।

समग्रमा हेर्दा, मुलुकका अर्थतन्त्रका केही प्रमुख सूचकहरू सुधारोन्मुख भए पनि बजारमा माग सुस्त देखिएको छ। मुद्रास्फीति नियन्त्रणमा आए पनि अत्यावश्यक वस्तुहरूको मूल्यवृद्धि उच्च छ। विप्रेषण आप्रवाह तथा विदेशी मुद्रा सञ्चिति मजबुत रहे पनि कर्जाको विस्तार तथा आन्तरिक बजारको माग अझै कमजोर रहेको देखिन्छ। यसले समग्र अर्थतन्त्रमा व्याप्त मन्दीको संकेत गरिरहेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0