पोखरा, २६ फागुन। जनमत पार्टीभित्र असन्तुष्टि चुलिँदै गएको छ। पार्टी अध्यक्ष डा. सीके राउतले आन्तरिक आलोचनालाई दबाउन लगातार कारबाही गरिरहेका छन्। असन्तुष्ट नेताहरूमाथि निलम्बन, निष्कासन र स्पष्टीकरणको डण्डा चलाइँदा पार्टीभित्रको आन्तरिक संरचना नै तहसनहस हुने खतरा देखिएको छ।

पछिल्लो समय अध्यक्ष राउतले उपाध्यक्ष एवं अनुशासन समितिका संयोजक दीपक साह र कोषाध्यक्ष सुरेन्द्र नारायण यादवलाई निलम्बन गर्दै स्पष्टीकरण सोधेका छन्। उपाध्यक्ष साहलाई एक हप्ता पहिले पत्र पठाइए पनि उनीमाथिको कारबाही सार्वजनिक हुन ढिलो गरियो। यस्तै, कोषाध्यक्ष यादवलाई शनिबार निलम्बन गरिएको थियो। पार्टीको केन्द्रीय समितिको बैठक अघि नै उनीहरूलाई हटाइएको छ, जसले आन्तरिक कलहलाई थप चर्काएको छ।

जनमतका कतिपय नेताहरू पार्टीभित्र अध्यक्ष राउतको आलोचना गर्नेहरूका लागि कुनै स्थान नरहेको बताउँछन्। संस्थापक नेताहरू एकपछि अर्को गरी किनारामा पारिँदै गएका छन्। कैलाश महतो, डा. रवीन्द्र यादव, जासर यादव लगायतका प्रभावशाली नेताहरूलाई निष्कासन गरिएको छ भने दर्जनभन्दा बढी केन्द्रीय नेताहरूमाथि स्पष्टीकरण सोधिएको छ। उपाध्यक्ष अब्दुल खानलाई समेत सोधिएको तर सार्वजनिक नगरिएको एक नेताले खुलासा गरे।

उपाध्यक्ष साहले आफूलाई अन्यायपूर्वक कारबाही गरिएको बताउँदै पार्टीभित्र देखिएका विसंगतिबारे आवाज उठाउने कोसिस गर्दा निष्कासनको चपेटामा परेको बताए। ‘पार्टीभित्र लोकतान्त्रिक प्रक्रिया हराउँदै गएको छ। विधि र विधानका नाममा मनपरी चलाइएको छ,’ साहले भने। जनमतका प्रवक्ता डा. शरदसिंह यादवले भने, ‘पार्टीको विधिअनुसार स्पष्टीकरण सोधिएको हो। यदि कसैले गल्ती गरेको छ भने जवाफ दिनुपर्छ, मिडियामा गएर हल्ला गर्ने होइन।’

अध्यक्ष राउतको शंका गर्ने प्रवृत्तिले पार्टीभित्रको समस्या झन् बल्झिएको बताइन्छ। खासगरी, उपाध्यक्ष साहमाथि पार्टीका महत्वपूर्ण बैठकहरूमा नआएको, पहाडमा बसेर जागिर खाएको, अध्यक्षविरुद्ध समाचार लेख्न लगाएको, गुटबन्दी चलाएको लगायतका आरोप लगाइएको छ। यस्तै, कोषाध्यक्ष यादवलाई आर्थिक अपारदर्शिताका आरोपमा कारबाही गरिएको छ। तर, उनले आफूलाई अध्यक्षसँग हिसाब खोजेकै कारण निलम्बन गरिएको दाबी गरेका छन्। ‘पार्टीमा असहमति राख्न पाइँदैन। आन्तरिक रूपमा सबै डराइरहेका छन्, खुला रूपमा कुरा गर्न सक्ने स्थिति छैन,’ यादवले भने।

गत निर्वाचनमा अध्यक्ष राउतका दाजु जयकान्त राउत पराजित भएपछि संस्थापक नेताहरूलाई पाखा लगाउने रणनीति अघि बढेको बताइन्छ। जयकान्तलाई अगाडि बढाउनकै लागि संस्थापक नेताहरूलाई निष्कासन गरिएको उनीहरूकै दाबी छ। समानुपातिक सांसद गोमालाभ सापकोटालाई हटाउने प्रयास पनि यही रणनीतिको एक अंश भएको आरोप लागिरहेको छ।

जनमत पार्टीभित्रको यो आन्तरिक खिचातानीले संगठनात्मक रूपमा पार्टीलाई कमजोर बनाउने संकेत देखिएको छ। अध्यक्ष राउतको एकलौटी शैलीले पार्टीभित्र असन्तोष चुलिँदै गए पनि खुला रूपमा बोल्ने वातावरण नरहेको असन्तुष्ट नेताहरू बताउँछन्। यदि यो अवस्था लामो समयसम्म रह्यो भने पार्टीमा ठूलो विभाजन हुने संकेत देखिन थालेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0