पोखरा, २७ फागुन। चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा संघ सरकारले ७ खर्ब ५४ अर्ब ८५ करोड रुपैयाँ खर्च गरेको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको समग्र आर्थिक तथा वित्तीय विवरणअनुसार यो खर्च चालु, पूँजीगत तथा वित्तीय व्यवस्था खर्च गरी तीनवटा शीर्षकमा बाँडिएको छ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा मात्रै चालु खर्च ५ खर्ब २२ अर्ब ६३ करोड पुगेको छ। यस्तै, पूँजीगत खर्च ६८ अर्ब ४२ करोड रहेको छ भने वित्तीय व्यवस्था शीर्षकमा १ खर्ब ६३ अर्ब ८१ करोड रुपैयाँ खर्च भएको छ।
यस अवधिमा संघ सरकारले ६ खर्ब ४२ अर्ब ८५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ, जसमा कर राजस्व ५ खर्ब ६५ अर्ब ६४ करोड र गैरकर राजस्व ७७ अर्ब २१ करोड रहेको छ।
त्यस्तै, राष्ट्र बैंकका अनुसार गत माघ मसान्तसम्म सरकारका विभिन्न खातामा ३ खर्ब ५० अर्ब ७ करोड रुपैयाँ मौज्दात रहेको छ। यो रकम प्रदेश तथा स्थानीय तहका खातामा रहेको समेत समावेश गरिएको हो। आर्थिक वर्षको सुरुआत अर्थात् असार मसान्तमा यो मौज्दात ८३ अर्ब ९९ करोड मात्र रहेको थियो।




























