पोखरा, २७ फागुन। हिमाली जिल्ला मुस्ताङको तेजनिरला जनहित बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको छ। आगामी चैत ५ गते स्ववियु निर्वाचन हुने कार्यतालिका रहेको भए पनि मनोनयनपत्र दर्ताका क्रममा प्रमुख विद्यार्थी संगठनहरूबीच सहमति जुटेपछि सर्वसम्मत नेतृत्व चयन गरिएको हो।

क्याम्पस प्रमुख तथा निर्वाचन अधिकृत अधितीयचन्द्र थकालीका अनुसार क्याम्पसमा प्रतिस्पर्धा नभई विद्यार्थी संगठनहरूबीच समझदारी भएकोले सर्वसम्मति जुटेको हो। क्याम्पस स्ववियुको सभापतिमा अनेरास्ववियुकी अञ्जु परियार चयन भएकी छन्। उपसभापतिमा नेविसङ्घका सुदीप भर्ती थकाली, सचिवमा उपदेश चौधरी, सहसचिवमा धीरज परियार र कोषाध्यक्षमा निशा गौचन चयन भएका छन्।

यस्तै, सदस्य पदमा अनेरास्ववियुबाट अशोक भण्डारी, कमल गुरुङ, नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुबाट देवराज लामिछाने र नेविसङ्घबाट मनिका विक निर्वाचित भएका छन्। निर्वाचन अधिकृत थकालीका अनुसार क्याम्पसमा सहमतिमै नेतृत्व चयन भएकाले विद्यार्थीबीच एकता र सहकार्यको सकारात्मक सन्देश गएको छ।

निर्वाचन अगावै भएको समझदारीलाई विद्यार्थी नेता तथा क्याम्पस प्रशासनले स्वागत गरेका छन्। प्रतिस्पर्धी रूपमा अघि बढ्ने परम्परालाई परिवर्तन गर्दै सहमतिमै नेतृत्व चयन हुनु ऐतिहासिक उपलब्धि भएको उनीहरूको भनाइ छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0