पोखरा, २७ फागुन। नेपालको कूल विदेशी विनिमय सञ्चिती चालु आर्थिक वर्षको सात महिनामा १६.१ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनदेखि माघसम्मको अवधिमा कूल विदेशी विनिमय सञ्चिती २३ खर्ब ६९ अर्ब रूपैयाँ पुगेको हो। यो वृद्धि आर्थिक वर्ष २०८१/८२ को सात महिनामा १६.१ प्रतिशतले भएको देखिन्छ।
नेपाल राष्ट्र बैंकका अनुसार २०८१ असार मसान्तसम्म देशको विदेशी विनिमय सञ्चिती २० खर्ब ४१ अर्ब १० करोड थियो। माघ महिनाको अन्त्यसम्ममा यो २३ खर्ब ६९ अर्ब ८ करोड पुगेको हो। यसमा अमेरिकी डलरको हिसाबमा यो सञ्चिती १७ अर्ब ५ करोड पुगेको जानकारी राष्ट्र बैंकले दिएको छ।
विदेशी विनिमय सञ्चितीको प्रमुख हिस्सा नेपाल राष्ट्र बैंकसँग रहेको छ। राष्ट्र बैंकसँग २१ खर्ब ५ अर्ब १४ करोडको विदेशी विनिमय सञ्चिती रहेको छ भने अन्य बैंक तथा वित्तीय संस्थासँग २ खर्ब ६३ अर्ब ९३ करोड रहेको छ।
आर्थिक वर्ष २०८१/८२ को सात महिनाको आयातको आधारमा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिती १७.२ महिनाको वस्तु आयात र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ। यसले देशको विदेशी विनिमय सन्तुलनमा सकारात्मक असर पार्ने अपेक्षा गरिएको छ।
विदेशी विनिमय सञ्चितीको वृद्धिले नेपालको आर्थिक स्थायित्व र व्यापार घाटामा सुधार ल्याउन मद्दत पुर्याउने विश्वास गरिएको छ। राष्ट्र बैंकले यो वृद्धि आर्थिक व्यवस्थापनको दृष्टिकोणबाट सकारात्मक संकेत मानिरहेको छ।




























