पोखरा, २८ फागुन। फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते अन्तर्राष्ट्रिय अपराध अदालत (आईसीसी) को गिरफ्तारी वारेन्टका आधारमा पक्राउ परेका छन्। उनलाई मानवताविरुद्धको अपराधमा आरोप लगाउँदै मंगलबार मनिलास्थित विमानस्थलबाट हिरासतमा लिइएको हो।

७९ वर्षीय दुतेर्ते हङकङबाट फिलिपिन्स फर्किने क्रममा इन्टरपोलको मनिला कार्यालयले उनलाई पक्राउ गरेको हो। फिलिपिन्स सरकारका अनुसार आईसीसीले जारी गरेको वारेन्टअनुसार दुतेर्तेमाथि औपचारिक कारबाही अघि बढाइएको छ। सरकारी वकिल कार्यालयले मानवताविरुद्धको अपराधको आरोपमा पक्राउ आदेश जारी गरेको वक्तव्यमा उल्लेख छ।

दुतेर्तेले आफ्नो कार्यकालमा लागू औषधविरुद्ध कठोर अभियान चलाएका थिए। प्रहरीको तथ्यांकअनुसार उक्त अभियानमा ६ हजारभन्दा बढीको मृत्यु भएको थियो। तर, स्वतन्त्र अनुगमन संस्थाहरूले वास्तविक संख्या अझै धेरै रहेको दाबी गरेका छन्। दुतेर्तेले सत्ता सम्हाल्दादेखि नै विवादास्पद कदमहरू चालेका थिए, जसका कारण उनी ‘एसियाली ट्रम्प’ का रूपमा समेत चिनिन्थे।

उनकी छोरी भेरोनिकाले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा दुतेर्तेले आफूविरुद्धको आरोपप्रति प्रश्न उठाउँदै ‘कुन कानूनअनुसार मैले के अपराध गरेँ?’ भनी प्रतिक्रिया दिएका छन्। उनको गिरफ्तारीपछि फिलिपिन्समा कानूनी तथा राजनीतिक बहस चर्किएको छ भने उनको राजनीतिक भविष्य अनिश्चित बनेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0