पोखरा, २८ फागुन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी र प्रतिक्रियावादी शक्तिको षड्यन्त्रविरुद्ध लाखौँ जनतालाई सडकमा उतारेर खबरदारी गरिने बताएका छन्। बुटवलमा आयोजित मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको छैटौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सत्ता गठबन्धनका भ्रष्टाचारी गतिविधिका कारण जनतामा बढ्दै गएको निराशा र असन्तुष्टिका बीच प्रतिगामी शक्तिहरूले जनताको अधिकारलाई आक्रमण गर्ने कोसिस गरिरहेको उल्लेख गरे।

अध्यक्ष प्रचण्डले थपे, “जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्न हामी सबै परिवर्तनकारी शक्ति र जनतालाई सँगै लिएर संघर्ष गर्नेछौँ।” उनले आगामी दिनमा पार्टीले जनतालाई अपिल गर्दै काठमाडौंमा लाखौँ जनतालाई सडकमा उतार्ने बताए। प्रचण्डले वर्तमानमा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशितामा प्रहार भइरहेको र यसलाई रक्षाका लागि उत्पीडित वर्गको महत्त्वपूर्ण भूमिका रहने पनि स्पष्ट पारे।

अध्यक्ष प्रचण्डले जनयुद्ध, बृहत जनआन्दोलन र विभिन्न संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई भने प्रतिगामी शक्तिहरूको आक्रमण र दलालहरूको दखलबाट सुरक्षित राख्नुपर्ने आवश्यकता औंल्याए। उनले आफ्नो पार्टीको दृढ प्रतिबद्धता व्यक्त गर्दै गणतन्त्रको रक्षामा कुनै पनि विचलन नगर्ने बताएका छन्।

आफ्नो सम्बोधनमा प्रचण्डले जातीय क्षेत्रीय मोर्चाको ऐतिहासिक योगदानको बारेमा पनि चर्चा गर्दै भनें, “समाजवादी क्रान्तिमा यी मोर्चाहरूको अझ बढी महत्त्व छ। हाम्रो पार्टीले यसलाई सुदृढ बनाउँदै जानेछ।”

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0