पोखरा, ३ चैत्र। प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भाइमाराको संगीन आरोप लगाएका छन्। उनले वंश विनाश गर्नेहरूले पुनः राजा बन्ने सपना देख्न नमिल्ने चेतावनी दिए।

शुक्रबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित कार्यक्रममा प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रको नाम नलिई मूर्ति चोरी, सुन तस्करीजस्ता गम्भीर आरोपसमेत लगाए। उनले गणतन्त्रको रक्षा गर्न आफूहरू तयार रहेको भन्दै हजारौं मान्छे सडकमा उफ्रिँदैमा गणतन्त्र खतरामा नपर्ने स्पष्ट पारे।

‘संघीय गणतन्त्र हजारौंको बलिदानबाट प्राप्त उपलब्धि हो, यसलाई १०–१५ हजार मान्छे उफार्दैमा उल्ट्याउन सकिँदैन। तर, दुस्साहस भइरहेको छ। त्यसको जवाफ इँटको बदलामा पत्थरले दिने तयारी माओवादीले गरिसकेको छ,’ प्रचण्डले चेतावनी दिए।

पूर्वराजा ज्ञानेन्द्रविरुद्ध अहिलेसम्मकै कठोर रूपमा प्रस्तुत भएका प्रचण्डले दरबार हत्याकाण्डको योजनाकार पनि ज्ञानेन्द्र नै भएको आरोप लगाए। ‘त्यो भयानक दरबार हत्याकाण्ड गर्नेहरू उनकै परिवारका थिए। नेपाली जनताले सबै कुरा बुझेका छन्,’ उनले भने।

प्रचण्डले आफू पहिलो पटक प्रधानमन्त्री भएका बेला दरबार हत्याकाण्डको दोषीलाई कठघरामा ल्याउने योजना बनाएको तर, सरकार टिक्न नसकेको कारण त्यो सम्भव नभएको खुलासा गरे। ‘यदि पाँच वर्ष शासन गर्न पाएको भए, भाइमारा र राजद्रोहीलाई इतिहासको कठघरामा उभ्याउने थिएँ। अहिले फेरि धाक देखाउनेहरू धेरै चुरीफुरी नगरे हुन्छ,’ उनले चेतावनी दिए।

गणतन्त्रको रक्षा गर्दै अग्रगमनलाई सुदृढ बनाउनका लागि आगामी चैत १५ गते काठमाडौंमा सभा आयोजना गरिने समेत प्रचण्डले जानकारी दिए। ‘नेपालका मूर्ति चोरहरू अहिले राजा बन्न खोज्दैछन्। नेपाली जनताले यो कुरा बिर्सन्छन् भन्ने सोच्नु मूर्खता हो,’ उनले थपे।

गणतन्त्रको रक्षा गर्न आफू र समाजवादी शक्तिहरू दृढताका साथ अगाडि बढ्ने बताउँदै प्रचण्डले राजावादी प्रवृत्तिविरुद्ध कडा संघर्ष जारी रहने बताए।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0