पोखरा, ३ चैत्र। नेपाली कांग्रेसका नेता डा. केदारनरसिंह केसीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले सार्वजनिक जग्गासँग उनको नाम जोडेर चरित्रहत्या गर्न खोजेको गम्भीर आरोप लगाएका छन्।
शनिबार पत्रकार सम्मेलन गर्दै उनले फागुन २८ गते प्रतिनिधिसभाको बैठकमा सांसद शिशिर खनाल र सुमना श्रेष्ठले दिएको अभिव्यक्ति राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको दाबी गरे। केसीले आफू र आफ्नो परिवारको नाममा साविक मनमैजु गाविस वडा नं ९ (हाल तारकेश्वर नगरपालिका वडा नं १०) मा रहेको कित्ता नं ६१ र ६२ मात्र रहेको स्पष्ट पार्दै कित्ता नं ६३ सार्वजनिक जग्गा भएको उल्लेख गरे। ‘मलाई सरकारी जग्गा एक इन्च पनि चाहिँदैन, मेरो चरित्रहत्या गर्ने उद्देश्यले संसद्मा कुरा उठाउँदा म दुःखी छु,’ उनले भने।
उनले संसद्मा आधारहीन र कपोलकल्पित प्रश्न उठाइनु गलत भएको भन्दै कानुनी उपचारको मार्ग अपनाउने चेतावनी दिए। पत्रकार सम्मेलनमा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले सार्वजनिक जग्गा संरक्षणका लागि नगरपालिका प्रतिबद्ध रहेको बताए। उनले स्थानीय जनप्रतिनिधिसँग समन्वयबिना संसद्मा कसैको चरित्रहत्या गर्ने कार्य गैरजिम्मेवार भएको टिप्पणी गरे।
उनले ‘सार्वजनिक जग्गा कहाँ मिचिएको छ, प्रमाणसहित छलफल गरौं’ भन्दै संघीय सांसदहरूलाई खुला चुनौतीसमेत दिए। भूगोलसम्बन्धी अधुरो जानकारीका आधारमा संसद्मा गलत आरोप लगाइनु निन्दनीय भएको उनको भनाइ छ।
कार्यक्रममा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ का क्षेत्रीय सभापति श्यामकृष्ण खड्गी, नेकपा (एमाले) नेता लब बस्नेत, कांग्रेस नेता इन्द्रमान महर्जन र तारकेश्वर वडा नं १० का वडाध्यक्ष कुमार राईलगायतले लालपुर्जाले पुष्टि गरिसकेको विषयमा संसद्मा बहस हुनु गैरजिम्मेवार व्यवहार भएको बताएका थिए।





























