पोखरा, ३ चैत्र। काठमाडौं स्कुल अफ ल (केएसएल) ले कार्यकारी निर्देशक युवराज संग्रौलामाथि लागेको यौन दुर्व्यवहारको आरोपबारे स्वतन्त्र छानबिनका लागि समिति गठन गरेको छ। तर, सोही समितिको निष्पक्षतामाथि प्रश्न उठेको छ। समितिमा समावेश एक सदस्यले पहिल्यै संग्रौलाको पक्षमा सार्वजनिक टिप्पणी गरिसकेको देखिएपछि विद्यार्थीहरूले निष्पक्ष छानबिन हुनेमा आशंका व्यक्त गरेका छन्।
केएसएलले आइतबार पत्रकार सम्मेलन गर्दै पूर्वजिल्ला न्यायाधीश डा. श्रीकृष्ण भट्टराईको अध्यक्षतामा स्वतन्त्र छानबिन समिति गठन गरेको जनाएको थियो। समितिमा वरिष्ठ पत्रकार तीर्थ कोइराला, अधिवक्ता सीमा धामी, र कलेजको आन्तरिक गुनासो समितिका संयोजक सदस्य सचिवको रूपमा रहने निर्णय गरिएको थियो। तर, अधिवक्ता धामीले आरोपित व्यक्तिको बचाउ गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेको भेटिएपछि समितिको निष्पक्षतामाथि प्रश्न उठेको हो। धामीले फेसबुकमा संग्रौलाको पक्षमा लेख्दै उनलाई ‘आदर्श गुरु’ को संज्ञा दिएकी थिइन्। अहिले उक्त पोस्ट डिलिट गरिए पनि त्यसको स्क्रिनसट विद्यार्थीहरूसँग रहेको छ।
यसैबीच, केएसएलका १०० जना विद्यार्थीले संयुक्त वक्तव्य जारी गर्दै एक छात्राले उजुरी दिएको घटनाको स्वतन्त्र छानबिनको माग गरेका छन्। उनीहरूले कानुनी शिक्षालयमा न्यायका सिद्धान्तहरू केवल पढाइने मात्र नभई व्यवहारमा पनि लागू हुनुपर्ने उल्लेख गरेका छन्। विज्ञप्तिमा व्यापक प्रणालीगत असफलताको प्रतिविम्ब देखिएको भन्दै तत्काल सुधार आवश्यक रहेको उल्लेख छ।
समितिको संयोजक रहेका पूर्वन्यायाधीश भट्टराईमाथि पनि विभिन्न प्रश्न उठेका छन्। उनी बहुविवाहको मुद्दामा तानिएको विषय सार्वजनिक भएको छ। साथै, उनले प्रधानन्यायाधीश पदका लागि संसदीय सुनुवाइ समितिमा निवेदन दिएका थिए, तर पछि नैतिक संकट भन्दै राजीनामा गरेका थिए। समितिका प्रमुखकै विश्वसनीयता विवादित बनेपछि छानबिन समितिको निष्पक्षता थप शंकास्पद बनेको हो।
संग्रौलामाथि छात्राहरूसँग अनावश्यक यौनजन्य टिप्पणी गर्ने, शरीरबारे अपमानजनक शब्द प्रयोग गर्ने, र विद्यार्थीलाई मसाज गर्न बाध्य पार्ने आरोप लागेका छन्। पीडित छात्राले कलेज प्रशासनमा उजुरी दिए पनि गम्भीर रूपमा छानबिन नभएको भन्दै उनले सामाजिक सञ्जालमा यो विषय सार्वजनिक गरेकी थिइन्। उनले सार्वजनिक गरेको विवरणपछि कार्यकक्षमा संग्रौलालाई कोही टाउको थिचिरहेको तस्वीर पनि बाहिर आएको थियो।
आइतबार पत्रकार सम्मेलनमा संग्रौलाले आफूलाई पुरानो स्वास्थ्य समस्या रहेको बताउँदै कक्षामा बेहोस हुने अवस्था आउने गरेको दाबी गरे। उनले आफूमाथि लागेको आरोप प्रतिस्पर्धी कलेजहरूको नियोजित षड्यन्त्र भएको आशंका व्यक्त गरे। उनले आफू अनुसन्धानका लागि तयार रहेको बताउँदै आफ्ना परिवारका सदस्यहरूलाई मानसिक तनाव दिनु गलत भएको टिप्पणी गरे।
यो घटनाले केएसएलभित्रको शैक्षिक वातावरण र व्यवस्थापन प्रक्रियामाथि गम्भीर प्रश्न खडा गरेको छ। विद्यार्थीहरूले निष्पक्ष छानबिनको माग गरिरहेका छन्, तर छानबिन समितिमै उठेको आशंकाले संस्थाको विश्वसनीयतामा नै असर पार्न थालेको छ।




























