पोखरा, ५ चैत्र। भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित ‘राइसिना डायलग’ कार्यक्रममा सहभागी हुन पुगेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच मंगलबार द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। नेपाल-भारतबीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यसहित भएको उक्त भेटमा आपसी हित, पारस्परिक लाभ, व्यापार, पारवहन तथा जलस्रोत विकासका विषयमा विस्तृत छलफल भएको थियो।
भेटमा मन्त्री डा. देउवाले नेपालले भारतसँगको सम्बन्धलाई विशेष प्राथमिकता दिँदै आएको र आगामी दिनमा समेत सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्। दुवै देशका विदेशमन्त्रीहरूबीच पछिल्लो समय भइरहेको उच्चस्तरीय भेटघाट, भ्रमण तथा आपसी सहकार्यबारे समेत कुराकानी भएको थियो।
यसअघि, परराष्ट्रमन्त्री देउवाले भारत भ्रमणका क्रममा भारतीय समकक्षी जयशंकरसँग भेट्ने प्रयास गरे पनि सम्भव भएको थिएन। तर, यसपटक भेटवार्ताले नेपाल-भारत सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।


























