पोखरा, ७ चैत्र। पोखराको इन्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा स्वतन्त्र उम्मेदवार प्रकाश धामी विजयी भएका छन्। दार्चुलाका धामी सिभिल इन्जिनियरिङ चौथो वर्षका विद्यार्थी हुन्। उनले नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)का उम्मेदवारलाई पछि पार्दै सात सय १६ मत ल्याएर जित हात पारेका हुन्।

धामी पहिले अखिल (क्रान्तिकारी) पश्चिमाञ्चल क्याम्पस इकाइ सचिव थिए, तर केही समयअघि उनी अखिल समाजवादीमा प्रवेश गरेका थिए। स्ववियु निर्वाचनमा भने उनी स्वतन्त्र उम्मेदवारको रूपमा मैदानमा उत्रिएका थिए। अध्यक्ष पदका अन्य प्रतिस्पर्धीहरूमा अनेरास्ववियुका अनुप न्यौपानेले चार सय ४९, अनेरास्ववियु (क्रान्तिकारी)का आदर्श महत क्षत्रीले एक सय ७८ र नेपाल विद्यार्थी संघका सौगात पण्डितले तीन सय ४६ मत प्राप्त गरे।

सचिव पदमा अनेरास्ववियु (क्रान्तिकारी)का हरिकृष्ण खड्का विजयी भए। उनले नौ सय २१ मत प्राप्त गर्दा प्रतिस्पर्धी अनेरास्ववियुका विनायक भुवाजीले सात सय चार मतमा चित्त बुझाए। त्यस्तै, कोषाध्यक्षमा पनि अनेरास्ववियु (क्रान्तिकारी)कै उम्मेदवार सशिस सापकोटा विजयी बने, जसले छ सय ९९ मत पाए भने प्रतिस्पर्धी अनेरास्ववियुका रोहितकुमार शाहले पाँच सय ८७ मत प्राप्त गरे।

पश्चिमाञ्चल क्याम्पसको निर्वाचन सकिए पनि कास्कीका अन्य क्याम्पसहरूमा भने भिन्न परिदृश्य देखिएको छ। पृथ्वीनारायण क्याम्पसमा मतदान चैत १० गते हुने तय भएको छ। यसअघि उम्मेदवारको नाम मतपत्रमा छुटेकाले विवाद उत्पन्न भएपछि मतदान स्थगित गरिएको थियो। यस्तै, जनप्रिय बहुमुखी क्याम्पसमा केही विद्यार्थी संगठनले तालाबन्दी गरेपछि निर्वाचन स्थगित भएको छ।

वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)को संयुक्त प्यानल विजयी भएको छ। त्यहाँ अध्यक्षमा अनेरास्ववियुका अभिषेक शर्मा, सचिवमा अनेरास्ववियु (क्रान्तिकारी)का गौरव खड्का र कोषाध्यक्षमा अनेरास्ववियुकी प्रतिमा श्रेष्ठ निर्वाचित भएका छन्।

संस्कृत विद्यापीठको निर्वाचन भने अन्योलमा परेको छ। त्यहाँ स्वतन्त्र विद्यार्थी समूहले उम्मेदवारी मनोनयन दर्ताको दिन तालाबन्दी गरेका थिए। निर्वाचन समिति र विद्यार्थी संगठनहरूबीच वार्ता जारी रहे पनि चैत १० गते नै मतदान गर्ने तयारी गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0