पोखरा, ७ चैत्र। गण्डकी प्रदेशको राजधानी पोखरामा पहिलोपटक अटोमोबाइल्स प्रदर्शनी ‘नाडा प्रेजेन्ट्स वाडा अटो सो २०२५’ आयोजना हुने भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसनको संयुक्त आयोजनामा चैत १४ देखि १७ गतेसम्म अमरसिंह माविको खेल मैदानमा यो प्रदर्शनी सञ्चालन गरिने संयोजक निरन केसीले जानकारी दिए।

गण्डकी प्रदेशमा सवारी साधन क्षेत्रको प्रवद्र्धन, आधुनिक प्रविधिको विकास तथा बजार विस्तार गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रदर्शनीमा विभिन्न ब्रान्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, वित्तीय सेवा प्रदायक तथा व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहनेछ। अटो सोमा १९ वटा ब्रान्डका चारपांग्रे, ६ वटा ब्रान्डका लाइट कमर्सियल तथा ७ वटा ब्रान्डका दुईपांग्रे सवारी साधन प्रदर्शन गरिनेछ।

गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिकाको प्रवद्र्धनमा हुन लागेको यस प्रदर्शनीलाई पोखरा उद्योग वाणिज्य संघ, युनाइटेड क्लब पोखरा, अमरसिंह माध्यमिक विद्यालयलगायतका संस्थाले सहकार्य गरिरहेका छन्। ग्लोबल एक्स्पोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेजले प्रदर्शनी व्यवस्थापनको जिम्मेवारी लिएको छ।

सवारी साधन सुरक्षासम्बन्धी जनचेतना फैलाउन जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहभागितामा सडक सुरक्षा तथा ट्राफिक नियम पालना सम्बन्धी विविध जानकारीमूलक कार्यक्रमहरू सञ्चालन गरिने छन्। साथै, पोखरा लायन्स क्लबको सहकार्यमा चैत १५ गते रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ।

प्रदर्शनी अवधिभर करिब ३५ हजार दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ। यसैबीच, प्रचारप्रसारलाई प्रभावकारी बनाउन चैत ९ गते बिहान पोखरा रंगशालाबाट सुरु भई अमरसिंह मैदानसम्म मोटर र्‍याली आयोजना गरिने भएको छ। बन्दीपुर केबलकार एन्ड टुरिजम लिले गोलाप्रथामार्फत ३०० जना विजेताहरूलाई केबलकारको टिकट प्रदान गर्ने जनाएको छ।

प्रदर्शनीले गण्डकी प्रदेशमा सवारी साधन क्षेत्रको बजारीकरण, प्रविधि हस्तान्तरण तथा नवप्रवर्तनका लागि महत्वपूर्ण अवसर सिर्जना गर्ने विश्वास गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0