पोखरा, ८ चैत्र। पोखरा महानगरपालिकाका प्रशासकीय अधिकृत कपिल गिरी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले महानगरको फाइल फर्छ्यौट शाखामा कार्यरत गिरीलाई २५ हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरेको हो।
अख्तियार पोखरा कार्यालयका प्रवक्ता राकेश पाण्डेका अनुसार गिरीले महानगरकै एक कर्मचारीसँग अख्तियारमा परेको उजुरी मिलाइदिन्छु भन्दै एक लाख रुपैयाँ मागेका थिए। ती कर्मचारीले अख्तियारमा जानकारी दिएपछि अख्तियारको टोलीले बिहीबार दिउँसो साढे ३ बजे गिरीलाई महानगर कार्यालय बाहिरै नियन्त्रणमा लिएको हो। पक्राउपछि अख्तियारले उनीविरुद्ध अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
गिरी महानगरका उजुरी फर्छ्यौट तथा समन्वय अधिकृतका रूपमा कार्यरत थिए। अख्तियारमा महानगरसम्बन्धी उजुरीहरू परेपछि सोधिने प्रष्टिकरण तथा अन्य कानुनी समन्वयका लागि उनी जिम्मेवार थिए। यही भूमिकाको फाइदा उठाउँदै उनले घुस मागेको खुलेको छ। उजुरीकर्तालाई तर्साउन उनले कृत्रिम प्रमाण खडा गरी उजुरी परेको भन्दै डर देखाएर रकम असुल्ने प्रयास गरेको खुलेको छ।
पक्राउ परेपछि गिरीले आफू निर्दोष रहेको दाबी गरेका छन्। उनले आफूमाथि षड्यन्त्र भएको आरोप लगाउँदै अख्तियारको फन्दामा पर्नु नियोजित जस्तो देखिएको बताएका छन्। उनी स्याङ्जा जिल्लाका स्थायी बासिन्दा हुन्। यसअघि पुतलीबजार नगरपालिकामा कार्यरत रहेका उनी बढुवा भएपछि पोखरा महानगरपालिकामा आएका थिए।


























