पोखरा, ८ चैत्र। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तराई–मधेस जागरण अभियानले पार्टीभित्र उत्साह र जनस्तरमा नयाँ ऊर्जा भरेको माओवादी नेताहरूको दाबी छ। संगठनभित्रको भद्रगोल अवस्थालाई सुधार्न जनतासँग प्रत्यक्ष सम्पर्क बढाउने उद्देश्यले थालिएको अभियानले माओवादीको पक्षमा नयाँ लहर सिर्जना गरेको उनीहरूको भनाइ छ।

मंसिर १६ गते सम्पन्न उपनिर्वाचनमा केही स्थानमा सफलता हात पारेपछि प्रचण्डले पार्टीलाई पुनः जनतासँग जोड्ने अभियानको योजना बनाएका थिए। त्यसैअनुसार, फागुन १२ गते झापाको कचनकवलबाट सुरु भएको जागरण अभियान कोसी प्रदेश पार गर्दै मधेस प्रदेशमा सम्पन्न भइसकेको छ। यसक्रममा, माओवादीले कोसी प्रदेशका झापा, मोरङ, सुनसरी र मधेस प्रदेशका आठ जिल्लामा बृहत् कार्यक्रम सम्पन्न गर्यो।

अध्यक्ष प्रचण्ड स्वयं अभियानको केन्द्रमा रहे। बिहानको हिँडाइ, स्थानीय जनतासँग छलफल, उनीहरूसँगै भोजन र बसाइ उनका दैनिकी बने। यसले स्थानीय जनसमुदायमा उनको पहिलेजस्तो सम्बन्ध फर्किएको अनुभूति गराएको नेताहरू बताउँछन्। प्रवक्ता अग्नि सापकोटाका अनुसार, यो अभियानले जनतासँगको सम्बन्धलाई मजबुत बनाउनुका साथै पार्टीलाई पुनर्जीवन दिन महत्त्वपूर्ण भूमिका खेलेको छ।

मधेस प्रदेश इन्चार्ज मात्रिका यादवका अनुसार, जागरण अभियानले मधेसमा विशेष प्रभाव पारेको छ। उनका अनुसार, पार्टी सरकारमुखी बन्दै जाँदा जनतासँगको सम्बन्ध खलबलिएको थियो। तर, अहिले स्थानीयस्तरमा जनतासँग प्रत्यक्ष संवाद गर्न पाउँदा कार्यकर्ताहरूमा समेत नयाँ ऊर्जा सञ्चार भएको छ।

राजनीतिक विश्लेषक चन्द्रकिशोर भने अभियानको प्रभावबारे तत्काल निष्कर्ष निकाल्न हतार हुने बताउँछन्। उनका अनुसार, माओवादीको मधेसप्रतिको पुरानो व्यवहार र नेतृत्वको शैलीलाई हेर्दा वर्तमान लहर दिगो रहन्छ वा रहँदैन भन्ने विषय खुला छ।

यस अभियानलाई पार्टी एकताको दृष्टिले पनि महत्त्वपूर्ण मानिएको छ। प्रचण्डसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, जनार्दन शर्मा, वर्षमान पुन, अग्नि सापकोटा लगायतका नेताहरू सक्रिय सहभागी भए। पार्टीभित्र गुटगत सोच हटाउँदै एकताको सन्देश दिनसमेत अभियान सफल रहेको माओवादी नेताहरू बताउँछन्।

अब प्रचण्ड चितवन हुँदै अन्य क्षेत्रमा अभियान लैजाने योजनामा छन्। पार्टी नेताहरूका अनुसार, जनतासँगको निरन्तर सम्पर्क कायम राख्दै संगठनलाई पुनः सशक्त बनाउने प्रयास जारी रहनेछ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0