पोखरा, ९ चैत्र। पछिल्ला दुई वर्षदेखि खस्कँदो अवस्थामा रहेको नेपालको अन्तर्राष्ट्रिय व्यापार सुधारको संकेत देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को फागुनसम्मको तथ्याङ्कअनुसार व्यापारमा क्रमिक सुधार देखिएको छ। गत वर्षको तुलनामा आयात तथा निर्यात दुबैमा वृद्धि भए पनि व्यापार घाटा अझै ठूलो रहेको छ।
नेपालले चालु आवको आठ महिनामा ११ खर्ब ४५ अर्ब रुपियाँ बराबरको वस्तु आयात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ११.२० प्रतिशतले बढी हो। समीक्षाधीन अवधिमा सबैभन्दा बढी ७९ अर्ब रुपियाँको डिजेल आयात भएको छ। त्यस्तै, कच्चा भटमास तेलको आयात ५१ अर्ब ३५ करोड रुपियाँ पुगेको छ, जुन नेपालमै प्रशोधन गरी भारत निर्यात गरिने प्रमुख वस्तुहरूमध्ये एक हो।
निर्याततर्फ हेर्दा, नेपालले फागुनसम्म १ खर्ब ५८ अर्ब रुपियाँ बराबरको वस्तु निर्यात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५७.२० प्रतिशतले बढी हो। निर्यात वृद्धिमा भटमास तेलको प्रमुख भूमिका रहेको छ, जसको मात्र फागुनसम्म ४८ अर्ब रुपियाँ बराबर निर्यात भएको छ। सूर्यमुखी तेल, अलैँची र गलैँचा जस्ता वस्तुहरूको निर्यातमा पनि केही वृद्धि भएको छ।
व्यापार घाटा भने अझै गम्भीर अवस्थामा छ। चालु आर्थिक वर्षको आठ महिनासम्म नेपालको व्यापार घाटा ९ खर्ब ८७ अर्ब रुपियाँ पुगेको छ। यद्यपि, निर्यात वृद्धिले समग्र व्यापार सन्तुलन सुधार्ने आशा गरिएको छ।





























