पोखरा, ९ चैत्र। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले २०८२ मंसिर मसान्तसम्म पार्टीको महाधिवेशन हुन नसके नेपाली कांग्रेस कमजोर हुने चेतावनी दिनुभएको छ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै कोइरालाले समयमै अधिवेशन नगरे पार्टीभित्र अन्योल बढ्ने बताउनुभयो। उहाँले पार्टीभित्रको आन्तरिक लोकतन्त्र बलियो बनाउन अधिवेशनको समयसीमा महत्त्वपूर्ण रहेको उल्लेख गर्दै पार्टी नेतृत्वलाई यसबारे गम्भीर हुन आग्रह गर्नुभयो।
कोइरालाले आफूहरूले महाधिवेशनको माग नगरे कसैले पनि आवाज उठाउन नसक्ने बताउँदै सामाजिक सञ्जालमार्फत पनि दबाब दिन आफ्ना समर्थकहरूलाई निर्देशन दिनुभयो। सबैले एकसाथ दबाब दिए पार्टी नेतृत्वले त्यसलाई वेवास्ता गर्न नसक्ने उहाँको भनाइ थियो।
यस्तै, उहाँले नेपाली कांग्रेस एकढिक्का भए मात्र देशलाई समृद्ध बनाउन सकिने बताउँदै पार्टी एकताका लागि सबै तहबाट पहल गर्नुपर्ने धारणा राख्नुभयो। कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग कुनै व्यक्तिगत तिक्तता नरहेको समेत स्पष्ट पार्नुभयो।





























