पोखरा, ९ चैत्र। ‘हिमनदी संरक्षण’ भन्ने नाराका साथ आज विश्वभर पानी दिवस मनाइँदै छ। जलवायु परिवर्तन, सहरीकरण, औद्योगीकरण र अनियन्त्रित जल उपयोगका कारण पानी संकट गहिरिँदै गएकाे सन्दर्भमा यो दिवसले जल संरक्षणको महत्त्वबारे चेतना फैलाउने विश्वास लिइएको छ।
सन् १९९३ देखि हरेक वर्ष २२ मार्चका दिन संयुक्त राष्ट्रसंघको पहलमा यो दिवस मनाइँदै आएको हो। यो दिवस सुरक्षित र स्वच्छ पानीको सुनिश्चितताका लागि रणनीतिक कदम चाल्न प्रेरित गर्ने उद्देश्यले मनाइन्छ। पछिल्ला वर्षमा विश्वभर तापमान वृद्धिका कारण हिमनदी सुक्दै गएका छन्, जसले जलस्रोतको सन्तुलन बिगार्ने खतरा बढाएको छ। नेपालमा पनि पानीको स्रोतहरू सुक्दै जानु, भूमिगत जलको अनियन्त्रित दोहन हुनु, वर्षातको पानी सदुपयोग हुन नसक्नु जस्ता समस्याले जल संकट गहिरिँदै गएको छ।
वैज्ञानिक अध्ययनअनुसार पृथ्वीमा उपलब्ध कुल पानीमध्ये ९७.५ प्रतिशत समुद्रमा छ, जुन नूनिलो भएकाले उपभोगयोग्य छैन। पिउन योग्य पानी जम्मा २.५ प्रतिशत मात्र उपलब्ध छ। नेपाल जलस्रोतमा धनी मुलुक भए पनि उचित व्यवस्थापनको अभावमा नागरिकले प्रशस्त पानीको अभाव झेल्नुपरेको छ। यहाँको प्रतिव्यक्ति जल उपभोग क्षमता तीन हजार ६०० घनमिटर भए पनि हालको उपभोग दर तीन सय ९३ दशमलव पाँच घनमिटर मात्र छ।
हिमनदी पग्लँदै जानु, भूमिगत जलको अत्यधिक दोहन, नदी तथा मूलमा मानवीय अतिक्रमण हुनु, जलाशयहरूको संरक्षण नहुनु, वर्षाको पानी खेर जानु जस्ता समस्याका कारण नेपालमा पानी संकट थप जटिल बन्दै गएको छ। संयुक्त राष्ट्रसंघका अनुसार विश्वभर ४० देखि ६० प्रतिशत पानी चुहावट र दुरुपयोग हुने गरेको छ।
नेपाल सरकारले जल तथा ऊर्जा क्षेत्रमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित साताव्यापी कार्यक्रम सञ्चालन गर्दै आएको छ। जलस्रोतको दीर्घकालीन उपयोग सुनिश्चित गर्न नीति तहमा बहस चलाउन, सरोकारवालाहरूलाई सक्रिय बनाउन र जल तथा ऊर्जा क्षेत्रका संघसंस्थालाई एकीकृत रूपमा अघि बढाउने पहल भइरहेको छ।
हिमनदी संरक्षणलाई प्राथमिकतामा राखी जलस्रोत व्यवस्थापनमा दीर्घकालीन नीति निर्माण गर्न आवश्यक छ। जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण गर्दै जलस्रोतको उचित उपयोग गर्न नसके भविष्यमा गम्भीर जल संकटको सामना गर्नुपर्ने खतरा बढ्दै गएको छ।





























