पोखरा, ११ चैत्र। सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नारद लुइँटेललाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लुइँटेललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।
नेप्सेको नेतृत्व सम्हाल्नका लागि गठित सिफारिस समितिले आवेदन दिएका १० जनामध्ये पाँच जनालाई अन्तिम सूचीमा राखेको थियो। ती प्रतिस्पर्धीहरूमा चूडामणि चापागाईं, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल, हेमन्त बस्याल र लुइँटेल थिए। अर्थ मन्त्रालयले ती पाँचै जनालाई अन्तर्वार्ताका लागि बोलाएको थियो, जसबाट लुइँटेल अन्ततः छनोट भएका हुन्।
यसअघि, नेप्सेको सीईओका रूपमा रहेका कृष्णबहादुर कार्कीको कार्यकाल सकिएपछि माघदेखि यो पद रिक्त थियो। सरकारद्वारा पुनः आवेदन आह्वान गरिएपछि १० जनाले आवेदन दिएका थिए। अन्ततः लुइँटेललाई जिम्मेवारी दिइएको हो। उनले नेप्सेको स्थायित्व, प्रविधिगत सुधार तथा पूँजीबजार विस्तारमा आफ्नो भूमिका प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।


























