पोखरा, ११ चैत्र। साउदी अरबको राजधानी रियादमा युक्रेन युद्ध अन्त्यका लागि अमेरिका र रुसका अधिकारीबीच वार्ता शुरू भएको छ। सम्भावित शान्ति सम्झौताका लागि गरिएको यो छलफललाई युक्रेनले सकारात्मक रूपमा हेरिरहेको छ। तर, वार्ताको क्रममा नै रुसले युक्रेनमा भीषण आक्रमण जारी राखेपछि शान्ति प्रक्रियामा चुनौती थपिएको छ।

रियाद वार्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा शुरू भएको हो। उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग छुट्टाछुट्टै संवाद गरेपछि वार्ताको वातावरण बनेको हो। वार्तामा अमेरिकी विशेष दूत स्टिभ विटकफले ‘वास्तविक प्रगति’ हुने विश्वास व्यक्त गर्दै सीमित युद्धविराममार्फत पूर्ण युद्धविरामको आधार तयार गर्ने लक्ष्य रहेको बताए। यसै क्रममा रुसले ब्ल्याक सी क्षेत्रमा आफ्नो सैन्य उपस्थिति आवश्यक रहेको दाबी गरेको छ।

युक्रेनका रक्षामन्त्री रुस्तेम उमेरोभले वार्तालाई ‘शान्ति स्थापनामा केन्द्रित’ भनेका छन्। तर, वार्ता भइरहेका बेला रुसले युक्रेनमा ९९ वटा आक्रमणकारी ड्रोन प्रहार गरेको युक्रेनी अधिकारीहरूको दाबी छ। कीभ, खार्किभ, ओडेसा, डोनेत्स्क लगायतका क्षेत्रहरूमा ती आक्रमण केन्द्रित भए। शनिबार राति भएको आक्रमणमा एक बालिकासहित तीन जनाको मृत्यु भएको र दस जना घाइते भएको कीभ प्रशासनले जनाएको छ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले यस्ता आक्रमण रोक्न पश्चिमी देशहरूको थप सहयोग आवश्यक रहेको बताए। उनले रुसलाई थप दबाब दिनुपर्ने बताएका छन्। युक्रेनले पनि जवाफी कारबाही गर्दै रुसी सीमाक्षेत्र बेल्गोरोदमा लुकेर राखिएका चारवटा सैन्य हेलिकप्टर नष्ट गरेको दाबी गरेको छ।

सन् २०२२ मा संयुक्त राष्ट्रसंघ र टर्कीको मध्यस्थतामा ब्ल्याक सी सम्झौता भएको थियो, जसले युक्रेनको अन्न निर्यातलाई सुरक्षित बनाएको थियो। तर, सन् २०२३ मा रुसले पश्चिमी प्रतिबन्ध नहटेको भन्दै सम्झौताबाट बाहिरिएको थियो। अहिलेको वार्ताले उक्त सम्झौताले नयाँ रूप लिन सक्ने आशा गरिएको छ।

रुसका अधिकारीहरूले वार्ता कठिन रहेको स्वीकारेका छन्। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले वार्ता अझै प्रारम्भिक चरणमै रहेको बताएका छन्। तर, वार्तासँगै जारी आक्रमणहरूले शान्ति प्रक्रियालाई जटिल बनाएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0