काठमाडौँ, १५ चैत। काठमाडौंमा राजावादी प्रदर्शनकारीहरूको गतिविधि तनावपूर्ण बनेको छ। प्रहरीको हस्तक्षेपपछि तितरबितर भएका प्रदर्शनकारीहरू पुनः एकत्रित हुन थालेका छन्।
प्रदर्शनकारीहरूले निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्दै लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो। यसपछि प्रदर्शनस्थल तनावग्रस्त बनेको थियो।
प्रहरीको अश्रुग्यास प्रहारपछि मञ्चमा रहेका नेताहरू सुरक्षित स्थलतर्फ लागेका थिए। अहिले नेताहरू पुनः मञ्चमा जम्मा हुन थालेका छन्। आन्दोलनका जनकमान्डर दुर्गा प्रसाईं मञ्चमा चढेर नेता र राजावादी समर्थकहरुलाई कार्यक्रम स्थलमा आउन आह्वान गर्दैछन्। उनले संयमित भएर सभा सम्पन्न गर्न आह्वान गरेका छन्।
प्रसाईंले प्रहरीलाई बल प्रयोग नगर्न र आफ्ना समर्थकलाई ढुंगामुढा नहान्न अनुरोध गरेका छन्।
नेताहरु सभा स्थल छाडेर हिँडेपछि प्रदर्शनकारी केहीबेर अन्योलमा परेका थिए, तर पछि उनीहरूले आफैं मञ्चमा पुगेर नेताहरुलाई कार्यक्रमस्थलमा आउन आह्वान गरे।
यसअघि प्रहरीको अश्रुग्यास प्रहारपछि आक्रोशित समूहले ढुंगा हानेर घरका सिसा फुटाएका थिए।


























