काठमाडौं, १५ चैत्र। नेपाली कांग्रेसले काठमाडौंमा भइरहेको हिंसात्मक प्रदर्शनलाई ध्यानमा राख्दै सरकारलाई नागरिकको धनजन सुरक्षाका लागि थप सतर्कता अपनाउन र रणनीतिक योजना बनाउन सुझाव दिएको छ।
कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले शुक्रबार सामाजिक सञ्जालमार्फत सरकारलाई नागरिक सुरक्षाका लागि तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्। उनले लोकतान्त्रिक समाजमा शान्तिपूर्ण प्रदर्शन स्वाभाविक भए पनि वर्तमान राजावादी आन्दोलनको नाममा भइरहेको अराजकताले चिन्ताजनक अवस्था सिर्जना गरेको उल्लेख गरे।
‘व्यवस्था परिवर्तनका नाममा गरिएका आपराधिक गतिविधिको जिम्मेवारी सम्बन्धित पक्षले लिनै पर्छ,’ उनले भने, ‘सरकारले नागरिकको धनजनको सुरक्षाका लागि थप सतर्कता साथै रणनीतिक योजना बनाउनुपर्दछ।’
उनले राजावादी आन्दोलन हिंसात्मक मोडमा प्रवेश गरी निजी सम्पत्ति तोडफोड, आगजनी तथा सुरक्षाकर्मी र दमकलमाथि आक्रमण गरेको घटनालाई गम्भीर रूपमा लिँदै त्यसको कडा भर्त्सना गरे। साथै, यो आन्दोलनको मूल उद्देश्य र नेतृत्वबारे समेत प्रश्न उठाएका छन्।
वर्तमान घटनाक्रमले पूर्वराजा ज्ञानेन्द्र शाहको नियत, उद्देश्य र प्रवृत्ति उदाङ्गो भएको भन्दै विश्वकर्माले सरकारलाई दृढ निर्णयका साथ शान्ति सुरक्षा कायम गर्न आह्वान गरेका छन्।































