काठमाडौं, १५ चैत्र। गृह मन्त्रालयले शुक्रबार काठमाडौंमा आयोजित राजतन्त्र समर्थकहरूको हिंसात्मक प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रदर्शनको क्रममा तीनकुने क्षेत्रमा संविधान प्रदत्त अभिव्यक्तिको स्वतन्त्रता र शान्तिपूर्वक भेला हुने अधिकारको उल्लंघन भएको टिप्पणी गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “व्यक्तिका निजी सम्पत्ति, अस्पताल, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायत यातायातका साधनहरूमाथि भएको तोडफोड र आगजनीका अमानवीय एवं अमर्यादित घटनाहरू गैरकानुनी तथा घोर भर्त्सनायोग्य छन्।”
गृह मन्त्रालयले भनेको छ कि यस्ता हिंसात्मक र आपराधिक गतिविधिहरूका लागि प्रदर्शनका आयोजकहरूले पूर्ण रूपमा जिम्मेवारी लिनु पर्छ।
विज्ञप्तिमा थप भनिएको छ, “संविधानले सबै वर्ग, जाति, भाषा, लिंग, क्षेत्र र धार्मिक अधिकारको संरक्षण गर्दै लोकतान्त्रिक शासन व्यवस्थाको उच्चतम उपयोग गर्ने मार्ग प्रशस्त गरेकै छ। शान्तिपूर्ण तरिकाले विचार प्रकट गर्ने लोकतान्त्रिक विधिको सट्टा हिंसापूर्ण एवं अराजनीतिक खालका गतिविधिहरूबाट कोही कसैको भलाइ हुँदैन।”
मन्त्रालयले आम नागरिकलाई अपिल गर्दै कानुनी उल्लंघन गर्ने कुनै पनि व्यक्तिलाई कानुनी दायरामा ल्याई विधिको शासन स्थापित गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरेको छ।





























